काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान लाई पुनः ४८ घन्टे अल्टिमेटम दिएका छन् ।
शुक्रबार इरानले आफ्नो भूमिमा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान खसालेपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
उक्त घटनामा एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता छन् । खोजीका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमाथि समेत इरानी आक्रमण भएको जनाइएको छ ।
घटनापछि शनिबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ‘ट्रुथ सोसल’मा प्रतिक्रिया दिँदै ट्रम्पले ४८ घन्टाभित्र हर्मुज जलडमरूमध्य नखोले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
‘मैले उनीहरूलाई सम्झौताका लागि १० दिनको समय दिएको थिएँ, त्यो समय सकिँदै छ । ४८ घन्टाभित्र तयार नभए भयानक हमला हुनेछ, ‘ट्रम्पले लेखेका छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इरान तनावपछि ट्रम्पले पटक–पटक वार्ताका लागि समयसीमा तोक्दै आएका छन् । सुरुमा ४८ घण्टे अल्टिमेटम दिएका उनले पछि समय थप्दै अप्रिल ६ सम्मको म्याद दिएका थिए । उनले इरानले नमाने ऊर्जा संरचनामाथि आक्रमण हुन सक्ने चेतावनी समेत दिएका छन् ।
यसैबीच, इरानले पनि कडा प्रतिक्रिया दिएको छ । इरानी सेनाका कमान्डर मेजर जनरल अली अबदोल्लाही अलीबादीले अमेरिका तनाव बढाउन खोजे नर्कको ढोका खुला हुने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया