दुबई उडानमा हिमालय एयरलाइन्सको लुट, २१ हजारको टिकट ५६ हजार पुराइयो

लोकपथ
56
Shares

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावको फाइदा उठाउँदै हिमालय एयरलाइन्सले त्यस क्षेत्रको भाडा दोब्बर बढाएको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान स्थगित गरेसँगै हिमालय एयरलाइन्सले त्यस क्षेत्रको भाडा अत्यधिक बढाएको हो ।

पहिले काठमाडौं-दुबई-काठमाडौंको भाडा ५५ देखि ६० हजार रुपैयाँसम्म रहेकामा अहिले उक्त भाडा बढाएर कम्तीमा पनि १ लाख रुपैयाँ कायम गरिएको छ ।

पहिले काठमाडौंदेखि दुबईसम्मको एकतर्फी भाडा ३८ हजार रुपैयाँदेखि ४१ हजार रुपैयाँको हाराहारीमा रहेकामा अहिले उक्त भाडा बढेर एकतर्फी नै ८० हजार रुपैयाँसम्म लिइएको पाइएको छ ।

त्यसै गरी दुबईबाट काठमाडौं आउने भाडा पहिले १५ हजार रुपैयाँदेखि २१ हजार रुपैयाँसम्म रहेकामा अहिले उक्त भाडा ५६ हजार रुपैयाँ पुगेको छ ।

अहिले मध्य पूर्वलाई वार जोनमा राखिएको कारण त्यहाँ इन्सुरेन्सका लागि अतिरिक्त रकम तिर्नुपर्ने भएपछि नेपाल एयरलाइन्सले उडान गरेको छैन । नेपाल एयरलाइन्सले उडान नगरेपछि त्यसको फाइदा भने निजी क्षेत्रको हिमालय एयरलाइन्सले उठाइरहेको छ ।

नेपाल एयरलाइन्सलाई मध्य पूर्वमा जान रोकेर हिमालय एयरलाइन्सले काठमाडौंबाट जाने भाडामा कम्तीमा १५ हजार रुपैयाँ प्रति यात्रु बढाएको छ भने मध्य पूर्वबाट आउने भाडामा २ सय प्रतिशत भन्दा बढीले बढाएको छ । अहिले दुबईबाट काठमाडौं आउने भाडा अत्यधिक बढाइएको छ ।

४५ लाखको इन्सुरेन्स थप्दा हिमालयलाई प्रति उडान ९० लाख फाइदा

यतिबेला युएईको दुबई लगायतका क्षेत्र उड्डयनको ‘वार जोन’ मा रहेको छ । वार जोनमा उडान गर्दा अतिरिक्त इन्सुरेन्स गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम हिमालय एयरलाइन्सले प्रति उडान २५ देखि ३० हजार डलर अतिरिक्त इन्सुरेन्स तिरिरहेको छ । अधिकतम अर्थात् ३० हजार डलर थप इन्सुरेन्स तिर्दा हिमालय एयरलाइन्सले हालको नेपाली मूल्य अनुसार जान र आउन (दुई तर्फी) उडानका लागि ४५ लाख ६० हजार रुपैयाँ थप इन्सुरेन्स तिरिरहेको छ ।

हिमालय एयरलाइन्सले आफ्नो एयरबस ३२०–२१४ उडानमार्फत प्रति उडान १८० प्यासेन्जर बोक्ने सामर्थ्य राख्दछ र उसले फूल अकुपेन्सीमै उडान भरिरहेको छ । यसरी फूल अकुपेन्सीमा उडान भर्दा काठमाडौं-दुबईको पहिलेको भाडामा १५ हजार रुपैयाँ बढाउँदा पनि उसले एकतर्फी उडानमै २७ लाख रुपैयाँ बढी रकम उठाइरहेको छ ।

त्यसै गरी दुबईबाट काठमाडौं आउँदा पहिले १५ हजारदेखि अधिकतम २१ हजार रुपैयाँसम्म भाडा लाग्नेमा अहिले ५६ हजार बनाइँदा कम्तीमा पनि ३५ हजार रुपैयाँ प्रति यात्रु थपिएको छ ।

अब १८० प्यासेन्जरबाट प्रति यात्रु ३५ हजार रुपैयाँ बढी उठ्दा मात्रै पनि हिमालय एयरलाइन्सले दुबई-काठमाडौं उडानमा ६३ लाख रुपैयाँ बढी उठाइरहेको छ । दुवैतर्फको हिसाब जोड्दा हाल हिमालय एयरलाइन्सले दुईतर्फी उडानबाट उसले ९० लाख रुपैयाँ बढी उठाइरहेको छ ।

मध्य पूर्वमा द्वन्द्वको कारण देखाउँदै नेपाल एयरलाइन्सले नियमित उडान नगरेको मौकामा हिमालय एयरलाइन्सले भने बढीमा ४५ लाख खर्च गरेर ९० लाख उठाइरहेको छ । यसबाट उसलाई नियमित उडानको नाफा बाहेक पनि प्रति सेड्युल ४५ लाख अतिरिक्त लाभ भइरहेको छ ।

इन्सुरेन्सको कारण देखाउँदै नेपाल एयरलाइन्स ब्याक
यता वार जोनमा उडान इन्सुरेन्स शुल्क धेरै लाग्ने भएपछि नेपाल एयरलाइन्सले भने नियमित उडान स्थगित गरेको छ ।
नेपाल एयरलाइन्सले दुबईबाट यसअघि कै मूल्यमा पहिले नै टिकट काटेका करिब १ हजार १०० यात्रुलाई ल्याउने र लैजाने गरेको भए पनि थप उडान भने गरेको छैन । नियमित उडान गर्न नसक्नुमा इन्सुरेन्सका लागि मात्रै १ करोड २० लाख अतिरिक्त रकम तिर्नुपर्ने भएकैले हो ।

हिमालय एयरलाइन्सको ३० हजार डलर, नेपाल एयरलाइन्सलाई ९० हजार डलर माग !

हिमालय एयरलाइन्सले १४४ सिटका लागि २५ हजार र १८० सिटका लागि ३० हजार डलरमा वार जोन इन्सुरेन्स गरिरहँदा नेपाल एयरलाइन्ससँग भने ९० हजार डलर माग गरिएको बुझिएको छ । नेपाल एयरलाइन्सले दुबईमा एयरबस ३३० मात्रै उडान गर्ने भएकाले त्यसका लागि अतिरिक्त इन्सुरेन्स शुल्क माग गरिएको बुझिएको छ । तर नेपाल एयरलाइन्सले न्यारो बढी विमान लैजान खोज्दा पनि त्यसको इन्सुरेन्स शुल्क बढी मागिएको कारण उडान गर्न सम्भव नभएको नेपाल एयरलाइन्सका एक जिम्मेवार अधिकारीले बताए ।

हिमालय एयरलाइन्सको किन ३० हजार डलर र नेपाल एयरलाइन्सको किन ९० हजार डलर भन्ने सम्बन्धमा भने ती अधिकारीले स्पष्ट जवाफ दिन सकेनन् ।

नेपाल एयरलाइन्सले यसअघि दुबईबाट ४ वटा सेड्युल फ्लाइट नै गरेको थियो । पहिले नै टिकट काटिसकेका यात्रुहरूका लागि एयरलाइन्सले थप शुल्क नलिई आफ्नै इन्सुरेन्स खर्चमा ४ उडानमा करिब १ हजार १०० यात्रु लैजाने र ल्याउने गरेको थियो ।

मध्य पूर्वको कतारमा अन्य देशका विमान कम्पनीको नियमित उडानलाई अनुमति नभएको, साउदी अरेबियाको दमाममा अर्को रुट भई जानुपर्ने हुँदा लोडका कारण पूर्ण क्षमतामा यात्रु लैजान नसक्ने भएकाले उडान सम्भव नभएको ती अधिकारीले बताए ।
एकातिर नेपाल एयरलाइन्सले इन्सुरेन्स लगायतका कारण देखाउँदै उडान भर्न नसकेको अवस्था हिमालय एयरलाइन्सले भने यात्रुसँग अत्यधिक बढी रकम उठाउँदै लुट मच्चाएको छ ।

यस सम्बन्धमा हिमालय एयरलाइन्सले उपलब्ध गराएको ०१४००४००० नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि फोन रिसिभ नै हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?