काठमाडौं । बालेन्द्र शाह ‘बालेन’, यो नाम, जसले २०७९ साल वैशाख अन्तिममा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक इतिहासमा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो ।
परम्परागत दलका धुरन्धर उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै ३२ वर्षीयस्वतन्त्र उम्मेदवार बालेन ‘लौरो’ चुनाव चिन्ह लिएर काठमाडौं महानगरको नेतृत्वमा उदाए । उनै बालेन आज नेपालको इतिहासमै कान्छामध्येका एक प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका छन् । महानगरको बागडोर सम्हालेको अनुभव लिइसकेका बालेन अब सिंगै मुलुकको नेतृत्व गर्नेछन् ।
फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सांसदमा निर्वाचित भए । महानगरको मेयर भएर काम गरिसकेका बालेन रास्वपाका वरिष्ठ नेता हुँदै संसदीय दलको नेतामा चयन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरे । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरे । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । आम नागरिकको विश्वासमा प्रधानमन्त्री बनेका बालेनबाट आम अपेक्षा पनि ठुलो छ ।
मेयर हुँदा बालेनले कमाएको चर्चा
मेयर हुँदाको उनको कार्यकाल भने चर्चा र विवादमै अल्झिएको थियो । युवापुस्तामा एकदमै रुचाइएका विशेषगरी जेनजी युवाका प्रतिनिधिको रूपमा उदाएका नेता बालेन निर्वाचित भएलगत्तै अवैध संरचना हटाउने उनको अभियान चर्चामा रह्यो । वर्षौँदेखि शक्तिको आडमा नक्सा पास नगरी बनाइएका संरचना र व्यापारिक प्रयोजनमा ल्याइएका बेसमेन्ट पार्किङ खाली गराउन महानगरले डोजर चलायो । यसले न्युरोड, बानेश्वर र दरबारमार्ग क्षेत्रमा पार्किङको चाप घटाउनुका साथै फुटपाथलाई फराकिलो बनाउन मद्दत पुर्याएको बालेनले दाबी गर्दै आएका छन् ।
यद्यपि, टुकुचा खोला उत्खनन र जय नेपाल सिनेमा हलको विवादमा अदालतले निजी सम्पत्तिको हकमा रोक लगाउँदा महानगरको तयारीमा प्रश्न उठ्यो । त्यस्तै, सुकुम्वासी बस्ती हटाउने प्रयासमा संघीय सरकारको असहयोग र स्थानीयको विरोधले बालेनको योजनामा राजनीतिक अवरोध सिर्जना भएको बालेनले आफ्नो स्ट्याटसमार्फत बताउँदै आए ।‘पैदलयात्री पहिलो प्राथमिकता’ भन्दै न्युरोडलगायत क्षेत्रमा फुटपाथ विस्तार गर्ने उनको अडानले नै उनी युवाहरूमाझ थप लोकप्रीय बन्न पुगे । सडक विभागसँगको टकराब र अदालती प्रक्रियाका बाबजुद बालेनले आफ्नो योजना कार्यान्वयन गरेरै छाडे ।
उनको कार्यकालको सबैभन्दा सफल र प्रशंसा पाएको काम शिक्षा क्षेत्रमा छ । उनले महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधारमा व्यापक सुधार ल्याए । ‘बुक फ्री फ्राइडे’ कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको बोझबाट मुक्त गरी व्यवहारिक सीप प्लम्बिङ, कृषि, इलेक्ट्रिसियन आदि सिकाउने कार्यले देशैभर चर्चा पायो । बालेनको स्वास्थ्य क्षेत्रमा, सम्पदा संरक्षण र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने लगायतका कामले पनि निकै चर्चा पायो जसले गर्दा उनी स्थानीय सकरकारका रूपमा नमुना नै सिद्ध भए । सकारात्मक काम हुँदाहुँदै पनि बालेनको साढे तीन वर्ष फोहोर व्यवस्थापनमा भने अलमलिएको देखिन्छ । ‘फोहोर व्यवस्थापन नभएसम्म माला लगाउँदिन’ भन्ने बालेनले बञ्चरेडाँडाको समस्यालाई दीर्घकालीन रूपमा हल गर्न सकेनन् ।
अर्कोतर्फ बालेनको ‘निर्मम’ कार्यशैलीलाई लिएर गम्भीर आलोचना भयो । विशेषगरी फुटपाथमा व्यापार गर्ने साना व्यवसायी र ठेलागाडामा जीविकोपार्जन गर्ने विपन्न वर्गलाई विकल्प नदिई बल प्रयोग गरेर हटाएको विषयलाई धेरैले ‘अमानवीय’ भने। गरिबको लागी काम गर्ने भन्दै भोट मागेका बालेनले सहर सफा गर्ने नाममा निम्न वर्गको रोजीरोटी खोसेको भन्दै कतिपयले अहिले पनि आलोचना गरिरहेका छन् । यस्तै थापाथलीको सुकुम्वासी बस्ती हटाउने सवालमा संघीय सरकारसँगको समन्वय अभाव र बल प्रयोगको नीतिका कारण पनि चर्चामा रहे ।
मेयर हुँदा केन्द्र सरकारसँग टक्कर
मेयर हुँदाको बालेनको कार्यकालमा संघीय सरकार र अन्य निकायसँगको निरन्तर टकराब एउटा नियमित प्रक्रिया जस्तै बनेको थियो । सिंहदरबारको फोहोर नउठाउने निर्णय होस् वा सडक विभागको कार्यालय अगाडि धुलो खन्याउने कार्य, यी घटनाले सहकार्यभन्दा पनि ‘लोकप्रियतावाद’ लाई बढवा दिएको आम बुझाई छ । बालेन सामाजिक सञ्जालमा जति सक्रिय र संवाद प्रिय देखिन्छन् । संस्थागत संवादमा भने त्यति नै उदासीन रहेको आरोप लाग्ने गरेको छ । आफ्नो कार्यालयमा आउने नागरिकलाई नभेट्ने, कार्यपालिका बैठकमा सदस्यहरूका प्रश्नको जवाफ नदिने र फेसबुक स्ट्याटसबाटै शासन चलाउन खोज्ने उनको प्रवृत्तिले लोकतान्त्रिक जबाफदेहितालाई कमजोर बनाएको गुनासो धेरै सुनियो । बालेनले महानगरमा केही सुधारका संकेतहरू देखाए पनि समन्वय र सहकार्यको अभाव सबैभन्दा ठुलो कमजोरीका रूपमा चित्रण भयो ।
संघीय सरकारले महानगरलाई उचित सहयोग नगरेको र बेवास्ता गरेको भन्दै बालेनको समर्थकहरूले सामाजिक सञ्जालमा तर्क गरिरहेको भेटिन्छ । बालेनको क्रेज युवापुस्तामा यतिसम्म छ कि यदि बालेनविरुद्ध कसैले नकारात्मक टीकाटिप्पणी गरेमा, नयाँ पुराना दलका कुनै नेताले नराम्रो धारणा व्यक्त गरेमा वा कुनै आरोप लगाएमा उनको बचाउमा पोस्ट गर्नेहरूको ओइरो लाग्ने गर्छ । बालेन माथि जनताको विश्वास यतीसम्म छ कि भदौ २३ र २४ गतेको आन्दोलन पछि बालेनलाई नै देशको प्रधानमन्त्री बनाउन सिंगो देश लागेका थिए राजनीतिक दल बाहेक ।
बालेनको स्ट्याटसको भरमा युवाहरूको मुड चेन्ज हुन्थ्यो । राजनीतिक दलहरूले बालेन स्वतन्त्र भएका कारण उनलाई सफल हुन नदिने गरी घेराबन्दी गरेको विषयमा सामाजिक सञ्जालमा डिबेट नै चलेको थियो । निर्वाचनकोबेला पनि अरु उम्मेदवार भन्दा बढि बालेनकै क्रेज रह्यो । बालेनलाई प्रधानमन्त्री बनाउनैका लागी मतदाताले रास्वपाका नयाँ पुराना सबै उम्मेदवार विजयी गराएर लगभग दुई तिहाईको मत दिलायो। जेनजी आन्दोलनपछि नेपाली राजनीति नयाँ शिराबाट अघि बढ्न खोजिरहेको देखिन्छ । जसको परिणामस्वरूप आज नेपालको प्रधानमन्त्रीको रुपमा बालेनले शपथग्रहण गरेका छन् ।
यस्तो छ बालेन नेतृत्वको मन्त्रिपरिषद्

बालेन नेतृत्वको सरकारमा १५ मन्त्री हुने भएको छ । यसअघि २५ जनाको मन्त्रिमण्डल रहने गरेकोमा अब १५ जना मन्त्री मात्र राख्ने निर्णय बालेनले गरेका छन् । प्रत्यक्ष निर्वाचित भएर आएका १० जना मन्त्री मन्त्री बनेका छन्।तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्ले अर्थमन्त्री, चितवन ३ बाट निर्वाचित सोविता गौतम कानून, काठमाडौं ६ बाट निर्वाचित शिशिर खनाल परराष्ट्र, काठमाडौं ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ, गोरखा १ बाट निर्वाचित सुधन गुरुङ गृहमन्त्री बनेका छन्।नुवाकोट १ बाट निर्वाचित विक्रम तिमल्सिना सञ्चार, महोत्तरी २ बाट निर्वाचित दीपक साह श्रम, काठमाडौं ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, कास्की १बाट निर्वाचित खडक पौडेल र रुपन्देही १ बाट निर्वाचित सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री मन्त्री बनेका छन्।
यसैगरी समानुपातिकबाट निर्वाचित भएर आएका प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरी कृषि, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका हुन्। बालेन क्याबिनेटमा मन्त्री बनेका शिशिर खनाल र विराजभक्त श्रेष्ठ यसअघि पनि मन्त्री बनेका थिए। अरू सबै नयाँ अनुहार हुन्। सर्लाही ४ बाट निर्वाचित अमरेश कुमार सिंह उद्योगमन्त्री अस्वीकार गरेकोमा यो मन्त्रालय प्रधानमन्त्री बालेनले आफैसँग राख्ने निर्णय गरेका छन् । बालेन नेतृत्वको सरकारले मुलुकको विकासमा ठुलो परिर्वतन ल्याउने विश्वास गरिएको छ । खास गरी हुन नसकेको राजनीतिक स्थिरता, स्थिर सरकार र त्यसैबाट हुने आर्थिक विकासको विषयलाई विषेश चासोकासाथ हेरिएको छ ।
इन्जिनियरदेखि र्यापरबाट राजनीति
बालेनको परिचय केवल राजनीतिज्ञमा मात्र सीमित छैन । उनी स्टक्चरल इन्जिनियर र चर्चित र्यापर समेत हुन् । उनी राजनीतिमा आउनुअघि र्याप ब्याटलका माध्यमबाट युवापुस्तामा परिचित भइसकेका थिए । पेसाले इन्जिनियर रहेका बालेन २०७२ सालको महाभूकम्पका बेला आफ्नो टिम लिएर देशका विभिन्न स्थानमा पुगेर राहत र पुननिर्माणमा सहयोग पुर्याएका थिए ।
इन्जिनियर, र्यापर, मेयर हुँदै अहिले प्रधानमन्त्री बनेका बालेन आफ्नैमा रहस्यमयी पात्र जस्ता देखिन्छन् । सञ्चारमाध्यममा कम देखिने बालेन, बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्छन् । कम बोल्ने बालेनको अबका दिनमा काम बोलोस् हाम्रो पनि शुभकामना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया