अमेरिकाको दोहोरो रणनीति : एकातिर इरानसँग वार्ताको कार्ड, अर्कोतिर हजारौँ सैनिक खाडीतर्फ

आफ्नो कुनै टापु कब्जा गर्नसक्ने इरानको आशंका

लोकपथ
280
Shares

काठमाडौं । अमेरिकाले खाडी क्षेत्रमा आफ्ना ‘हजारौँ सैनिक पठाएको छ । इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले आफ्ना सैनिक त्यसतर्फ पठाएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरुले रक्षा मन्त्रालय पेन्टागनले खाडी क्षेत्रमा ‘हजारौँ हवाई सैनिक’ र जल सैनिक पठाइरहेको जनाएका छन् । अमेरिकी सेनाको ८२ औँ एयरबोर्न डिभिजनका करिब २ हजार सैनिकलाई खाडी क्षेत्रतर्फ जान आदेश दिइएको समाचारमा उल्लेख छ ।

८२ औँ एयरबोर्न डिभिजन भनेको अमेरिकाको सबैभन्दा छिटो परिचालन गर्न सकिने, आकाशबाट प्यारासुटमार्फत् निश्चित ठाउँमा उत्रिनसक्ने विशेष प्रशिक्षित आक्रमणकारी सेना हो । यसलाई सामान्यतया ‘प्याराट्रुपर फोर्स’ पनि भनिन्छ ।

समाचारमा जनाइएअनुसार, यसअघि नै दुई अमेरिकी मरिन टुकडी (जल सैनिकको टोली) प्रस्थान गरिसकेको छ । ठूला जहाजमा सवार मरिन टुकडीमध्ये पहिलो टोली केही दिनमै गन्तव्यमा पुग्ने अनुमान गरिएको छ ।

आफ्ना सैनिक पठाएपछि इरान सशंकित बनेको छ । इरानले यसलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।

अमेरिकाले खाडी क्षेत्रमा आफ्ना ‘हजारौँ’ सैनिक पठाएपछि यस विषयमा इरानका सभामुख मोहम्मद बघेर घलिबाफले प्रतिक्रिया दिएका छन् । उनले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी दिएका छन् ।

सभामुख गलिबाफले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्टमार्फत भनेका छन्, ‘इरानी सेनाले शत्रुहरूको गतिविधि निगरानी गरिरहेको छ । यदि उनीहरूले कुनै कदम चाले भने हामी निरन्तर र कठोर रूपमा त्यस क्षेत्रीय देशको महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नेछौं ।’

इरानका सभामुख गलिबाफले स्पष्टरुपमा कुनै पनि देशको नाम नलिएको भएपनि विश्लेषकहरूले भने संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित हुन सक्ने बताएका छन् । यो विषयमा अल जजिराले लेखेको छ, ‘कतिपयको बुझाइमा उनले यूएईलाई संकेत गरेका हुनसक्छन्, जसले अमेरिकालाई खार्ग टापु कब्जा गर्न सहयोग गर्न सक्छ ।’

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘यदि इरानी टापुहरू वा अन्य कुनै क्षेत्रमा सैन्य कारबाही भयो भने इरानले रेड सागरको प्रवेशद्वारमा लडाइँको नयाँ मोर्चा खोल्न सक्ने जनाएको छ ।’

इरानी समाचार एजेन्सी तस्निमले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘आवश्यक परे इरान समर्थित यमनका हुथी विद्रोहीहरू समेत बाब–अल–मन्देब जलमार्ग नियन्त्रणमा भूमिका खेल्न तयार छन् ।’

अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ । यो व्यापारिक र रणनीतिक हिसाबले संवेदनशील मानिन्छ ।

यदि आशंका गरिएझैँ खार्ग टापुमा अमेरिकी सेना उत्रिएमा बाब–अल–मन्देब समुद्रीमार्गमा खतरा सिर्जना गर्ने सम्भावना छ ।

बाब–अल–मन्देब जलडमरू क्षेत्र अफ्रिका र एसियाको बीचमा पर्ने एक महत्वपूर्ण समुद्री मार्ग हो । यसले रेड सागर र एडेन खाडीलाई जोड्छ । यसको एकतर्फ यमन (एसिया) र अर्कोतर्फ जिबुटी र इरिट्रिया (अफ्रिका) पर्छन् । यसले स्वेज नहर हुँदै भूमध्यसागरसम्म जाने मार्गलाई जोड्छ । एसिया–युरोप बीचको धेरै सामान यही बाटो ढुवानी हुन्छ । विशेष गरी तेल र ग्यास ढुवानीका लागि यो अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

यतिमात्र होइन, विश्वको ठूलो हिस्सा तेल र ग्यास यही मार्गबाट गुज्रिन्छ । यदि यहाँ समस्या आयो भने तेल र ग्यासको आपूर्ति अझै प्रभावित भई विश्वभरि झन् मूल्य बढ्न सक्छ । 

समाचारमा उल्लेख भएअनुसार, अमेरिका, युरोप र मध्यपूर्वका देशहरूका लागि यो सैन्य रूपमा संवेदनशील क्षेत्र हो । यहाँ तनाव भयो भने जहाज आवागमन रोकिन सक्छ । यदि यो बन्द भयो भने जहाजहरूलाई अफ्रिकाको दक्षिण घुमेर जानुपर्छ, जसले समय र खर्च धेरै बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?