काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मे १४ र १५ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।
ह्वाइट हाउसले बुधबार यसको औपचारिक घोषणा गरेको छ । यसअघि यही महिनाको अन्त्यका लागि तय गरिएको यो भ्रमण इरानसँगको युद्धका कारण स्थगित भएको थियो ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्पको बहुप्रतिक्षित भ्रमणको घोषणा गर्दै जानकारी दिइएकी हुन् ।
अमेरिकी राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्पले यसै वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनलाई वासिङ्टन डीसीमा स्वागत गर्नेछन् ।
ह्वाइट हाउसका अनुसार, ट्रम्प–सी भेटवार्ता विश्वव्यापी आर्थिक र सुरक्षा सहयोगका लागि महत्त्वपूर्ण छ । दुवै नेताले चाँडै द्विपक्षीय मुद्दाहरूमा छलफल गर्ने योजना बनाएका छन् ।
भ्रमणको नयाँ तालिका तय गर्नु अघि युद्ध अन्त्यसँग सम्बन्धित कुनै पूर्वसर्त थिए कि भन्ने प्रश्नमा लिभिटले त्यस्तो कुनै छलफल नभएको स्पष्ट पारिन् ।
उनका अनुसार, राष्ट्रपति सीले वर्तमान परिस्थितिमा ट्रम्पको उपस्थिति आफ्नो क्षेत्रका लागि आवश्यक रहेको बुझेर भ्रमण स्थगित गर्ने अनुरोध सहजै स्वीकार गरेका थिए ।
गत वर्ष दक्षिण कोरियाको बुसानमा भएको एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प र सीबीच अन्तिम पटक भेट भएको थियो । लिभिटका अनुसार, मे महिनासम्ममा युद्धको अवस्था नियन्त्रणमा आउने अनुमान गरिएको छ ।
ट्रम्पले पनि गत हप्ता आयरल्यान्डका प्रधानमन्त्रीसँगको भेटमा आफू राष्ट्रपति सीसँग भेट गर्न उत्सुक रहेको र चीनसँगको समन्वय सकारात्मक रहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया