अमेरिकाले आफ्नो ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी 

लोकपथ
91
Shares

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पूर्णरुपमा खुला गर्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै त्यसो नगरे उसका प्रमुख विद्युत् उत्पादन केन्द्र ध्वस्त बनाउने धम्की दिएलगत्तै इरानको यस्तो जवाफ आएको हो । ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३ः१४ बजे सकिँदै छ ।

आईआरजीसीको भनाइ उद्धृत गर्दै इरानका मिडियाले भनेका छन्, ‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरू खोलिने छैन ।’

होर्मुज जलडमरू इरानसँग जोडिएको छ र यो फारसी खाडीलाई ओमानको खाडी र अरब सागर (दक्षिणपूर्व) सँग जोड्ने एक मात्र समुद्री मार्ग हो । विश्वको २० प्रतिशत तेल र आपूर्ति यहीँबाट भइरहेको छ ।

उता, इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू बन्द नभएको र अमेरिका र इजरायलको मनोवृत्तिका कारण जहाजहरू यस बाटोबाट जान किच्चाउने गरेको बताएका छन् । 

भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिइरहेको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा भारतले समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको बताइएको छ । 

सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानमा हाल उनकै छोरा मोज्तबा खामेनी सर्वोच्च नेता चुनिएका छन् । उनी बुवा अली खामेनीभन्दा कट्टर मानिन्छन् । 

मोज्तबा खामेनी नेतृत्वमा आएपछि इरानले आक्रमण थप तीव्र पारिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?