कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा खस्यो, चालक दलको खोजी तथा उद्धार अभियान जारी

लोकपथ
182
Shares

काठमाडौं । कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना भएको छ । मध्यपूर्वमा जारी युद्धका बीच कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना भएको हो । 

कतारको रक्षा मन्त्रालयले आफ्नो एउटा हेलिकप्टर समुद्री क्षेत्रमा खसेको पुष्टि गरेको छ । ‘प्राविधिक खराबी’का कारण हेलिकप्टर दुर्घटनामा परेको पनि कतारले जनाएको छ । 

कतारद्वारा जारी विज्ञप्तिमा हेलिकप्टरका चालक दल र अन्य यात्रुको खोजी तथा उद्धार अभियान सुरु गरिएको उल्लेख छ । दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन । 

अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी छ । जवाफमा इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ । जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ । 

सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानमा हाल उनकै छोरा मोज्तबा खामेनी सर्वोच्च नेता चुनिएका छन् । उनी बुवा अली खामेनीभन्दा कट्टर मानिन्छन् । मोज्तबा खामेनी नेतृत्वमा आएपछि इरानले आक्रमण थप तीव्र पारिरहेको छ । 

यसैबीच, इरानले दक्षिणी इजरायलका डिमोना र अरद सहरहरूमा भएको आक्रमणपछि १ सयभन्दा बढी मानिस घाइते भएका छन् । सो आक्रमणको निशाना डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको आणविक केन्द्र (न्युक्लियर फ्यासिलिटी) भएको देखिन्छ । इरानको आक्रमणपछि इजरायलले आफ्ना शत्रुहरूमाथि कारबाही जारी राख्ने चेतावनी दिएको छ ।

उता, युएईले इरानको नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिएको बताएको छ । इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण हालैका हप्ताहरूमा तेलको मूल्य ह्वात्तै बढेको छ ।

उता, ४८ घण्टाभित्र होर्मुज अफ स्ट्रेट नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीयुक्त अल्टिमेटमको इरानले जवाफ दिएको छ । आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारमाथि प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पूर्णरुपमा खुला गर्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए । त्यसो नगरे उसका प्रमुख विद्युत् उत्पादन केन्द्र ध्वस्त बनाउने धम्की पनि उनले दिएका छन् । ट्रम्पले दिएको अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३ः१४ बजे सकिन्छ ।

आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले भनेका थिए, ‘इरानले ४८ घण्टाभित्र हर्मुज पूर्णरूपमा नखुलाए अमेरिकाले उसका विभिन्न विद्युत् केन्द्रहरू ध्वस्त बनाउने छ । त्यसको सुरुवात सबैभन्दा ठूलो केन्द्रबाट हुनेछ ।’

साँघुरो गल्लीका रूपमा परिचित हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ ।

इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इजरायली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण जारी राखेकाले यो मार्ग बन्दप्रायः छ ।

उता, भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिइरहेको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा भारतले समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?