पाकिस्तान बन्यो आतंकवादी गतिविधि बढी हुने पहिलो नम्बरको देश

नेपालसहित दक्षिण एसियाली मुलुकको अवस्था कस्तो ? 

लोकपथ
35
Shares

काठमाडौं । आतंकवादी गतिविधि हुने देशहरूको सूचीमा नेपालको स्थिति विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । 

‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६ को सूचीअनुसार नेपाल सन् २०२५ मा ६८औं स्थानमा रहेकोमा अहिले ८९औं स्थानमा रहेको छ । यो भनेको नेपालमा सुरक्षा स्थिति बलियो भएको र आतंकवादी गतिविधि कम भएको भन्ने हो । यो संस्थाको मुख्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ । यो एक स्वतन्त्र र गैर–नाफामूलक संस्था हो । 

नेपालको यो सुधारलाई अन्य देशको तुलनामा निकै ठूलो मानिएको छ । सो संस्थाले सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी गतिविधि तथा आक्रमण भएको नदेखिएको रिपोर्टमा उल्लेख गरेको छ । 

सन २०२५ को सुरुवातीमा नेपालमा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार थियो । तर सेप्टेम्बर ८ र ९ मा नेपालमा जेनजी आन्दोलन भएको थियो । सो आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो । 

१६३ देशहरूको सूचीमा दक्षिण एसियाली मुलुक पाकिस्तान पहिलो नम्बरमा परेको छ । पाकिस्तान पहिलोपटक यस सूचीको शीर्ष स्थानमा पुगेको हो । यसले पाकिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको देखाएको छ ।

सूचीअनुसार दक्षिण एसिया लगातार दश वर्षसम्म आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । 

नेपालको छिमेकी मुलुक भारत १३औं स्थानमा छ । भारतले गतवर्षको तुलनामा केही सुधार गरेको छ । यसअघि भारत ११औं स्थानमा थियो । भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनाहरूमा ४३ प्रतिशतले कमी आएको जनाइएको छ ।

दक्षिण एसियाली मुलुक भुटान र श्रीलंका आतंकवादी गतिविधि शून्य भएका देशहरूको सूचीमा पर्दा बंगलादेश ४२औं स्थानमा र अफगानिस्तान ११औं स्थानमा छ । 

अफगानिस्तानको स्थितिमा भने सुधार आएको छ र यो अहिले शीर्ष १० देशहरूको सूचीबाट बाहिरिएको छ ।

सन् २०२५ मा विश्वभर आतंकवादबाट हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ । आतंकवादी हमलाको संख्या पनि करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ पुगेको छ । समग्रमा यस वर्ष ८१ देशको स्थितिमा सुधार आएको छ भने १९ देशको स्थिति बिग्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?