काठमाडौं । इरान र इजरायल बिचको द्वन्द्व चर्किँदै जाँदा क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती देखिएको छ । पछिल्लो घटनामा इरानले लामो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्दा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
इजरायली सैन्य प्रमुख एयाल जामिरका अनुसार इरानले हिन्द महासागरस्थित डिएगो गार्सिया तर्फ करिब ४ हजार किलोमिटर दूरी पार गर्ने दुई वटा मिसाइल प्रहार गरेको छ । फेब्रुअरी २८ यता पहिलोपटक इरानले यति लामो दूरीका मिसाइल प्रयोग गरेको जनाइएको छ ।
उनले यी मिसाइलहरूको पहुँच बर्लिन, पेरिस र रोम सम्म पुग्न सक्ने उल्लेख गर्दै युरोपका प्रमुख शहरहरू समेत जोखिममा पर्न सक्ने बताएका छन् ।
शनिबार राति इरानी मिसाइलहरूले दक्षिणी इजरायलका डिमोना र अरादमा प्रहार गर्दा बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । डिमोना क्षेत्र इजरायलको गोप्य परमाणु संरचना नजिक पर्ने भएकाले यो आक्रमणलाई संवेदनशील मानिएको छ ।
इरानको रिभोल्युसनरी गार्डले दक्षिणी इजरायलका सैन्य र सुरक्षा केन्द्रहरू लक्षित गरिएको जनाएको छ । यता, इजरायली सेना प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले वायु प्रतिरक्षा प्रणाली सक्रिय भए पनि सबै आक्रमण रोक्न नसकिएको बताएका छन् ।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले कडा प्रतिक्रिया दिँदै देश अत्यन्त कठिन समय बाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले शत्रुहरूमाथि सबै मोर्चाबाट कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।
अमेरिका र इजरायलले आक्रमण सुरु गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने इजरायलमा इरानी आक्रमणबाट कम्तीमा १५ जनाको ज्यान गएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया