काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव न्यूनीकरण गर्न तथा होर्मुज जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले यसअघि ब्ल्याक सी क्षेत्रमा सुरक्षा सुनिश्चित गर्दै अवस्था सहज बनाउन संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै सन् २०२२ जुलाईमा सुरु गरिएको मानवीय कोरिडोरमार्फत युक्रेनको निर्यातलाई सहज बनाइएको उल्लेख गरे ।
महासचिव गुटेरेसले होर्मुज जलक्षेत्रमा सुरक्षित र सहज निर्यातको वातावरण निर्माण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले हाल खाडी क्षेत्रका प्रमुख निकायहरू तथा युरोपेली परिषद्सँग समन्वय गरिरहेको जानकारी दिए ।
यसै सन्दर्भमा उनले संयुक्त राष्ट्रसंघ सहयोगका लागि इच्छुक र तत्पर रहेको स्पष्ट पार्दै यस्ता प्रयासहरू प्रभावकारी रूपमा अघि बढाउन संयुक्त राज्य अमेरिका तथा अन्य साझेदारहरूसँग प्रत्यक्ष सहकार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया