इरानको निशानामा अमेरिकी एफ–३५, मध्यपूर्वी एयरबेसमा सुरक्षित अवतरण

लोकपथ
273
Shares

काठमाडौं । इरानी हमलापछि अमेरिकी एफ–३५ लडाकु विमानलाई आपतकालीन अवतरण गराइएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको हो ।

अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, उक्त पाँचौँ पुस्ताको लडाकु विमान इरानमाथि आफ्नो मिसनमा रहेको बेला मध्यपूर्वस्थित एक अमेरिकी एयरबेसमा आपतकालीन अवतरण गराउनुपरेको थियो ।

उनका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको सेन्टकमले जनाएको छ ।

सीएनएनका अनुसार करिब १०० मिलियन डलरभन्दा बढी मूल्य पर्ने उक्त एफ–३५ विमान इरानको आक्रमणबाट प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्वयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गर्नुपरेको यो पहिलो घटना भएको बताइएको छ । एफ–३५ राडार छल्न सक्ने अत्याधुनिक लडाकु विमान हो, जसलाई अमेरिका र इजरायल दुवैले प्रयोग गर्दै आएका छन् ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले भने अमेरिकी एफ–३५ विमानमाथि हमला गरी ‘गम्भीर क्षति’ पुर्‍याएको दाबी गरेको छ ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो करिब साढे दुई बजे मध्य इरानको आकाशमा उक्त विमानलाई वायु रक्षा प्रणालीमार्फत निशाना बनाइएको थियो । साथै, उक्त अपरेसनअघि १२५ भन्दा बढी अमेरिकी–इजरायली ड्रोनहरू अवरोध (इन्टरसेप्ट) गरिएको पनि दाबी गरिएको छ ।

आईआरजीसीले यस घटनाले आफ्नो वायु रक्षा प्रणालीमा भएको सुधार र क्षमताको पुष्टि गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?