ओडिसाको अस्पतालमा भीषण आगलागी, १० बिरामीको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कटकको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा भएको आगलागीमा १० जना बिरामीको ज्यान गएको छ भने बिरामीलाई बचाउने क्रममा कम्तीमा ११ जना अस्पताल कर्मचारी घाइते भएका छन् ।

आइतबार राति करिब ३ बजेतिर अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट आगो सुरु भएको बताइएको छ ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप ३ जनाको उपचारका क्रममा ज्यान गएको छ । घटना हुँदा उक्त आईसीयू कक्षमा २३ जना बिरामी उपचाररत रहेका थिए । उनीहरूलाई बाहिर निकाल्ने प्रयासका क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी सोमबार बिहान अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन् । साथै घटनाको विस्तृत छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्देशन दिएका छन् ।

ओडिसाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थामध्ये एक मानिने यस अस्पतालमा राज्यका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । आईसीयू जस्ता संवेदनशील कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले अस्पतालको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको छ ।

यसअघि पनि सन् २०२५ को अक्टोबरमा जयपुरस्थित सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा ८ जना बिरामीको ज्यान गएको थियो । त्यतिबेला स्टोररुममा जडान गरिएको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन, जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरूलाई समयमै उद्धार गर्न कठिन भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?