मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । मध्य नाइजेरियाको एक गाउँमा बन्दुकधारी समूहले  आक्रमण गर्दा कम्तीमा २० जनाको ज्यान गएको छ । 

स्थानीय विकास स.गठनले शनिबार दिएको जानकारीअनुसार उक्त घटनामा सुरक्षाकर्मी तथा गाउँलेहरू मारिएका छन् भने आक्रमणकारीहरूले गाईवस्तु र अन्य सम्पत्ति पनि लुटेर लगेका छन् ।

स्थानीयवासीहरूले ‘डाकू’ भनेर चिन्ने अपहरणकारी गिरोहहरूले नाइजेरियाका ग्रामीण बस्तीहरूमा लामो समयदेखि आतङ्क मच्चाइरहेका छन् । यी समूहहरूले प्रायः फिरौती असुल्न र लुटपाट गर्न सामूहिक अपहरण तथा सशस्त्र आक्रमण गर्ने गरेका छन् ।

पछिल्लो आक्रमण शुक्रबार मध्य नाइजेरियाको पठार राज्यमा भएको हो । कानम डेभलपमेन्ट एसोसिएसनले जारी गरेको विज्ञप्तिमा बन्दुकधारीहरूले नियमित गस्तीमा रहेका सैनिकमाथि अचानक आक्रमण गरेको उल्लेख गरिएको छ ।

संगठनका अनुसार आकस्मिक आक्रमणपछि भएको गोली हानाहानमा १२ जना सुरक्षाकर्मी मारिएका छन् । उनीहरूसँगै आफ्नो गाउँको सुरक्षा गर्न पुगेका आठ जना स्थानीयवासी पनि घटनामा ज्यान गुमाएका छन् । ‘आकस्मिक आक्रमणपछि भएको दुर्भाग्यपूर्ण गोली हानाहानमा राष्ट्रले कर्तव्य निर्वाह गर्दै अन्तिम बलिदान दिने बहादुर सुरक्षाकर्मीहरू गुमाएको छ, ‘संगठनले जनाएको छ ।

गोलीबारीपछि बन्दुकधारीहरू नजिकैको समुदायतर्फ पसेर गाईवस्तु तथा अन्य सम्पत्ति लुटेर फरार भएका थिए ।

पठार राज्यसहित मध्य नाइजेरियाका धेरै गाउँहरू पछिल्ला वर्षहरूमा बारम्बार आक्रमण, लुटपाट र अपहरणका घटनाबाट प्रभावित हुँदै आएका छन् । ग्रामीण बस्तीहरूमा सुरक्षा चुनौती बढ्दै जाँदा स्थानीय समुदायहरू निरन्तर त्रासमा बाँच्न बाध्य भएका छन् ।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरिया अहिले बहु आयामिक सुरक्षा सङ्कटसँग जुधिरहेको छ । देशले एकातिर सशस्त्र अपहरणकारी गिरोहहरूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने अर्कोतर्फ कट्टरपन्थी इस्लामवादी समूहहरूले सञ्चालन गरेको विद्रोहलाई पनि सामना गरिरहेको छ ।

नाइजेरियाली सेनाले विद्रोही तथा अन्य सशस्त्र समूहविरुद्ध कारबाही तीव्र बनाएको भए पनि विभिन्न क्षेत्रमा सक्रिय आपराधिक गिरोह र सशस्त्र समूहहरूको उपस्थितिका कारण सुरक्षा अवस्था अझ जटिल बनेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?