इराकमा अमेरिकी इन्धन भर्ने विमान दुर्घटना : ६ जनाको मृत्यु

लोकपथ
70
Shares

 काठमाडौं । पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी केसी–१३५ इन्धन भर्ने सैन्य विमानमा सवार चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी केन्द्रीय कमाण्डले सो जानकारी दिएको हो ।

कमाण्डका अनुसार ‘अपरेशन एपिक फ्युरी’ को क्रममा हवाई क्षेत्रमा उडान भर्दै गर्दा उक्त विमान अचानक सम्पर्कविहीन भएको थियो ।

यसैबीच, इरान समर्थित लडाकु समूहहरूको छाता संगठन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले भने आफ्ना लडाकुहरूले पश्चिमी इराकमा दुई वटा अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

शुक्रबार जारी गरेको दुई छुट्टाछुट्टै विज्ञप्तिमा आफ्ना लडाकुहरूले एउटा केसी–१३५ विमानलाई उपयुक्त हतियार प्रयोग गरी खसालेको र सोही प्रकारको अर्को विमानमाथि पनि आक्रमण गरिएको उल्लेख गरेको छ । दोस्रो विमानका चालक दलले शत्रुको एउटा विमानस्थलमा आपतकालीन अवतरण गरेको दाबी समूहले गरेको छ ।

उडानकै क्रममा अन्य सैन्य विमानहरूलाई इन्धन भर्ने उद्देश्यले डिजाइन गरिएको केसी–१३५ विमान ६० वर्षभन्दा बढी समयदेखि अमेरिकी वायुसेनाको प्रमुख हवाई इन्धन भर्ने प्लेटफर्मका रूपमा प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?