जेरुसेलम । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्यइरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावका बीच गरिएको यस आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको बताइएको छ ।
इजरायली वायुसेना –आईएएफ) का अनुसार सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौँ लडाकु विमानले एक दिनभित्र तीव्र आक्रमण अभियान सञ्चालन गरेका थिए । आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरूलाई लक्षित गरी धेरै हतियार प्रयोग गरिएको बताइएको छ ।
आईएएफले ‘रोअर अफ द लायन’ नामक अभियान सुरु भएयता इजरायलतर्फ हुने सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले इरानका विभिन्न सैन्य पूर्वाधारहरूमा सयौँ आक्रमणात्मक उडान सञ्चालन गरिएको जनाएको छ ।
यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले इरानी शासनले आणविक हतियार क्षमता विकास गर्न प्रयोग गरेको दाबी गरिएको ‘तालिबान’ नामक परिसर नष्ट गरिएको जानकारी दिएको थियो । उक्त परिसर सन् २००० को दशकमा सञ्चालन गरिएको गोप्य ‘एएमएडी परियोजना” अन्तर्गत उन्नत विस्फोटक विकास र संवेदनशील परीक्षणका लागि प्रयोग गरिएको आईडीएफले दाबी गरेको छ ।
यसैबीच लेबनान मोर्चामा पनि इजरायली सेनाले हिजबुल्लाहसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेको जनाएको छ । आईडीएफका अनुसार बेरुतस्थित हिजबुल्लाहभित्र इरानी रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) को मिसाइल एकाइका अपरेसन कमान्डर अबु धर मोहम्मदी मारिएका छन् । इजरायली सेनाले मोहम्मदी हिजबुल्लाह र इरानबीच समन्वय गर्ने प्रमुख व्यक्तित्व रहेको तथा ‘अपरेसन नर्दन एरोज’ पछि हिजबुल्लाहको क्षेप्यास्त्र कार्यक्रम पुनः स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ ।
आईडीएफले इरानको इमाम हुसेन डिभिजनका वरिष्ठ कमान्डर अली मुस्लिम तबाजालाई पनि मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार तबाजा हिजबुल्लाह तथा उक्त डिभिजन दुवैभित्र विभिन्न सैन्य जिम्मेवारी सम्हाल्दै आएका प्रमुख व्यक्ति थिए । इमाम हुसेन डिभिजनलाई इरानी कुद्स फोर्सले क्षेत्रीय सहयोगी शक्ति सुदृढ बनाउन र इजरायलविरुद्ध सञ्चालनका लागि प्रयोग गर्ने सैन्य संरचनाको रूपमा लिने गरिएको छ ।
यसैक्रममा हिजबुल्लाहको ‘रादवान फोर्स’ को दक्षिणी लेबनान एकाइका कमान्डर अबु अली रियान पनि मारिएको आइडिएफले दाबी गरेको छ । रियानले अपरेसन समन्वय, लडाकु भर्ती तथा हतियार आपूर्ति सञ्जाल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको इजरायली सेनाले जनाएको छ । आईडीएफका अनुसार १०० भन्दा बढी लडाकु मारिएका छन् भने ‘रादवान फोर्स’ का ६० भन्दा बढी कमान्ड तथा नियन्त्रण केन्द्रहरू ध्वस्त पारिएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका नयाँ सर्वोच्च नेता आयोतल्लाह मोजताबा खामेनीलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी मोजताबा खामेनीलाई इजरायलले लक्षित गर्न सक्छ कि भन्ने प्रश्नमा नेतान्याहुले आफूले कुनै पनि ‘आतंकवादी संगठनका नेतामाथि जीवन बिमा नीति जारी नगर्ने’ प्रतिक्रिया दिए ।
उनले मोजताबा खामेनीलाई इरानको रिभोलुसनरी गार्ड कप्र्सको ‘कठपुतली’ भन्दै सार्वजनिक रूपमा खुलेर देखिन नसक्ने व्यक्तित्व भएको आरोप लगाए ।
नेतान्याहुले पछिल्ला घटनाक्रमले इजरायल, इरान तथा व्यापक मध्यपूर्व क्षेत्रबीचको रणनीतिक सन्तुलन परिवर्तन हुन थालेको संकेत दिएको बताए । साथै इजरायलले आफूले आतंकवादी संगठन ठानेका समूहहरूविरुद्ध आवश्यक परे भविष्यमा पनि कारबाही जारी राख्न सक्ने संकेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया