आयातोल्लाह अली खामेनी मारिएकै दिन इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते भएको पुष्टि

घाइते भएकै अवस्थामा उनलाई चुनिएको थियो नयाँ नेता

लोकपथ
175
Shares

काठमाडौं । अमेरिका र इजरायलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको पुष्टि भएको छ । आक्रमणमा उनी घाइते भएको अपुष्ट समाचार केही दिनदेखि आइरहेको बेला अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उनी घाइते भएको पुष्टि गरेको छ । 

स्रोतलाई उद्धृत गरेर सीएनएनले लेखेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका र इजरायलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएको जनाएको छ । समाचारमा उनको खुट्टा भाँच्चिएको र अनुहारमा सामान्य चोट लागेको उल्लेख छ ।

५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको समेत देखिएको स्रोतलाई उद्धृत गरेर सिएनएनले लेखेको छ ।

नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भएको घोषणा भए पनि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनले सार्वजनिक रूपमा सम्बोधन पनि गरेका छैनन् । राजदूत सालारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन् । 

मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले पुराना भिडियो र सीमित दृश्यहरू प्रयोग गर्दै आएका छन् ।  

अमेरिका र इजरायले डिसेम्बर २८ मा तेहरानमा गरेको आक्रमणमा सर्वोच्च नेतासमेत रहेका आयातोल्लाह अली खामेनी, उनका परिवारका केही सदस्य र शीर्ष अधिकारीहरू मारिएकै दिन नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको उल्लेख छ । 

यसअघि इजरायली अखबार टाइम्स अफ इजरायलले अली खामेनीको हत्या प्रयासमा मोज्तबा पनि घाइते भएको जनाएको थियो । 

यसैबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो । सो रिपोर्टअनुसार उनको खुट्टामा चोट लागेको थियो, तर उनी सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ ।

उता, नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएपनि उनी सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिका छोराले गरेका छन् । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा उनले यस्तो दाबी गरेका हुन् । 

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उनी घाइते भएको जनाएका हुन् । उनका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।

‘मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ । मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु । उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्,’ पेजेस्कियानले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो । तर उनी कहिले र कसरी घाइते भएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन । 

मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन् । आयातुल्ला अली खामेनीको २८ फेब्रुअरीमा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो । सो घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो ।

मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ ।

उनी विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग नजिक मानिन्छन् र विश्लेषकहरूले उनलाई आफ्नो पिताभन्दा पनि कडा धारका नेताका रूपमा हेर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?