काठमाडैं । लेबनानमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ भने १ हजार ४४४ जना घाइते भएका छन् ।
लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वले देशभर ठूलो स्तरमा विस्थापन निम्त्याएको छ ।
सरकारी तथ्याङ्कअनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३०० जना विस्थापितका रूपमा दर्ता भएका छन् । युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूको लागि देशभर ५८० वटा आश्रयस्थलहरू स्थापना गरिएको छ, जहाँ हाल १ लाख २२ हजार ६०० विस्थापित बसोबास गरिरहेका छन् ।
यसैबीच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा मंगलबार दिउँसो तीनवटा हवाई आक्रमण गरेको जनाएको छ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि आक्रमण जारी छन् ।
हेजबुल्लाहले नोभेम्बर २७, २०२४ मा युद्धविराम भएयता पहिलोपटक मार्च २ मा इजरायलतर्फ रकेट प्रहार गरेको थियो । यस कदमपछि लेबनानी सरकारले हेजबुल्लाहलाई केवल राजनीतिक कार्यमा सीमित रहन र हतियार बुझाउन निर्देशन दिएको छ ।
इजरायली सेनाले हेजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान सुरु गरेको छ। यसअन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाहीहरू जारी छन् । साथै, लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दालाई उक्त क्षेत्र खाली गर्न चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया