भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू

लोकपथ
154
Shares

काठमाडौं । भारतका केही राज्यहरूमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखा परेको छ । जसले विशेषगरी दक्षिणी राज्य कर्नाटक र दक्षिण–पश्चिमी राज्य महाराष्ट्रका होटल र रेस्टुरेन्ट क्षेत्रलाई गम्भीर असर पारेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा एलपीजी आपूर्तिमा अवरोध आएको हो । 

केही दिनअघि मात्र घरेलु एलपीजी सिलिन्डरको मूल्य ६० भारतीय रुपैयाँ र व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य ११५ रुपैयाँले वृद्धि गरिएको थियो । मूल्य वृद्धि र अभावका कारण मुम्बईका करिब २० प्रतिशत होटल तथा रेस्टुरेन्टहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

यस विषयमा भारतीय जनता पार्टी (भाजपा) का सांसद तेजस्वी सूर्याले संघीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीलाई पत्र लेख्दै रेस्टुरेन्ट र हस्पिटालिटी क्षेत्रमा एलपीजी आपूर्तिको निरन्तरता सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले बेंगलुरु होटल एशोसिएसनले भोगिरहेको समस्या पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

अभावको गम्भीरतालाई मध्यनजर गर्दै भारत सरकारले मङ्गलबार ‘अत्यावश्यक वस्तु ऐन, १९५५’ लागू गरेको छ । यस ऐनअन्तर्गत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको उपलब्धता, आपूर्ति र समानुपातिक वितरणलाई नियमन गरिनेछ । संघीय सरकारले सबै रिफाइनरी र पेट्रोकेमिकल इकाइहरूलाई एलपीजी उत्पादन अधिकतम बनाउन र मुख्य हाइड्रो कार्बन प्रवाहलाई एलपीजी उत्पादनतर्फ मोड्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?