काठमाडौं । पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने अन्य ४० जना घाइते भएका छन् ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै बालबेक जिल्लाको नाबी चित र आसपासका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण ठूलो मानवीय क्षति भएको जनाएको छ ।
स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाविरुद्ध हिजबुल्लाहका सदस्यहरूसँग मिलेर प्रतिरोधमा उत्रिएका थिए । त्यसपछि इजरायली लडाकु विमान र हेलिकप्टरहरूले गाउँ तथा आसपासका क्षेत्रमा करिब ४० वटा हवाई आक्रमण गरेको जनाइएको छ ।
गत नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि पुनः तनाव चर्किएको हो । युद्ध विरामपछि यो समूहको पहिलो यस्तो आक्रमण मानिएको छ ।
यस घटनापछि इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान सञ्चालन गर्दै व्यापक हवाई आक्रमणका साथै सीमाक्षेत्रमा स्थलगत घुसपैठ सुरु गरेको बताइएको छ । साथै लिटानी नदीको दक्षिण क्षेत्र र बेरुतको दक्षिणी उपनगर खाली गर्न सर्वसाधारणलाई चेतावनी पनि दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया