दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना : झारखण्डमा ७ जनाको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ७ जनाको मृत्यु भएको छ । दुर्घटना चतरा जिल्लाको सिउरिया नजिकैको जंगल क्षेत्रमा भएको हो ।

दिल्लीतर्फ जाँदै गरेको बीचक्राफ्ट सी–९० विमान राँचीबाट उडेको केही समयमै खराब मौसमका कारण उडान मार्ग परिवर्तनको अनुरोध गरेको थियो । तर अनुरोधपछि केही मिनेटमै विमानको सम्पर्क विच्छेद भयो र रडारबाट हरायो। विमान रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडले सञ्चालन गरेको एयर एम्बुलेन्स थियो ।

दुर्घटनामा दुई जना क्रू सदस्य, एक जना बिरामी र उनका आफन्तसहित ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मृत बिरामी बर्न पीडित सञ्जय कुमार थिए, जसलाई थप उपचारका लागि दिल्ली लैजान लागिएको थियो । परिवारले उपचार र एयर एम्बुलेन्सको खर्च जुटाउन लाखौँ रुपैयाँ ऋण लिएको बताइएको छ ।

विमान सोमबार बिरसा मुंडा विमानस्थलबाट उडेको थियो । प्रारम्भिक जानकारीअनुसार दुर्घटनाको कारण खराब मौसम र चट्याङ हुन सक्ने अनुमान गरिएको छ ।

घटनापछि नागरिक उड्डयन महानिर्देशनालय  र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । स्थानीय प्रशासनले क्षेत्रलाई घेराबन्दी गरी शवहरू उद्धार गरेर पोस्टमार्टमका लागि पठाइसकेको  जनाएको छ ।

यस दुर्घटनाले विशेष गरी आपतकालीन सेवाका रूपमा प्रयोग हुने एयर एम्बुलेन्सको सुरक्षा मापदण्ड र खराब मौसममा उडान सञ्चालनको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?