काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयर फ्याक्स काउन्टीको एक अपार्टमेन्टमा एक नेपालीले बिहा सबेरै आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । उनको आक्रमणबाट ज्वाइँ पनि गम्भीर घाइते भएका छन् । परिवारका सदस्यको हत्या गर्ने ती व्यक्तिको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
फेयर फ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा बिहान सवा ५ बजे यो घटना भएको हो । स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो हतियार प्रहार गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेको उल्लेख गरेका छन् । यस्तै, उनका ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेत घाइते भएका छन् ।
समाचार एजेन्सीहरूका अनुसार, ससुरा छत्रबहादुरले आफ्नी सासू र श्रीमतीको हत्या गरेपछि ज्वाइँ सन्तोषले ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए । सूचनापछि पुगेको प्रहरी टोलीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको हो ।
घाइते सन्तोषको अवस्था गम्भीर छ । परिवारका सदस्य एक वर्षीय शिशु भने सुरक्षित छन् । परिवारको पृष्ठभूमि आपराधिक नभए पनि घरभित्रैको यो बीभत्स हत्याकाण्ड देखेर प्रहरी नै अचम्मित भएका छन् ।
प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनालाई प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पनाबाहिरको बीभत्स दृश्य’ भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया