३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री : तारिक रहमानले आज शपथ लिँदै

लोकपथ
42
Shares

काठमाडौं । बंगलादेश नेशनल पार्टी (बीएनपी) का नेता तारिक रहमानले आज साँझ बंगलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।  नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहका लागि राजधानी ढाकामा तयारी तीव्र पारिएको छ ।

यो शपथ ग्रहणलाई बंगलादेशको नयाँ सरकारको पहिलो ठुलो कूटनीतिक सन्देशका रूपमा हेरिएको छ । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले नेपालसहित १३ देशका सरकार प्रमुखहरूलाई समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका छन् । 

निमन्त्रित मुलुकहरूमा भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । दक्षिण एसिया र पश्चिम एसियाका देशहरूको उपस्थितिले समारोहलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण बनाएको छ ।

ढाकामा हुने यो कार्यक्रमलाई केवल औपचारिक शपथ ग्रहण मात्र नभई नयाँ सरकारको विदेश नीति र क्षेत्रीय सन्तुलनबारे अन्तर्राष्ट्रिय सन्देशका रूपमा हेरिएको छ । 

विशेष गरी भारत, पाकिस्तान र चीनलाई एउटै समारोहमा निमन्त्रणा गरेर सन्तुलित कूटनीति अपनाउने संकेत गरिएको विश्लेषण गरिएको छ ।

नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्न लागेका रहमानका लागि घरेलु राजनीतिक स्थिरता कायम गर्नु, अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउनु र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन राख्नु प्रमुख चुनौती रहनेछन् ।

हालै सम्पन्न निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट हासिल गरेको छ । 

कुल २९९ सिटमा निर्वाचन भएको थियो । ६० वर्षीय तारिक रहमान प्रभावशाली जिया परिवारका सदस्य हुन् । उनका बुबा जियाउर रहमान र आमा खालिदा जिया दुवैले बंगलादेशको शीर्ष नेतृत्व सम्हालेका थिए ।  

तर रहमानको राजनीतिक यात्रा विवादरहित भने रहेन । उनले नातावाद र भ्रष्टाचारका आरोप खेप्नुपरेको थियो ।

पूर्व प्रधानमन्त्री शेख हसिना को सरकारका बेला भ्रष्टाचार अभियोगमा उनले १८ महिना जेल जीवन बिताएका थिए । उपचारका लागि बेलायत गएका रहमान त्यसपछि १७ वर्ष निर्वासनमा बसेका थिए ।

शेख हसिनाको सरकार सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएको थियो र उनी हाल भारतमा निर्वासित अवस्थामा रहेकी छन् । त्यसपछि अवामी लिगमाथि प्रतिबन्ध लगाइएर निर्वाचन सम्पन्न भएको थियो, जसमा बीएनपीले बहुमत हासिल गर्‍यो ।

खालिदा जियाको निधन भएको केही हप्तापछि तारिक रहमानलाई बीएनपीको प्रमुख नियुक्त गरिएको थियो ।  उनी सन् २००१ देखि, करिब ३५ वर्षको उमेरदेखि नै पार्टी राजनीतिमा सक्रिय भूमिकामा रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?