रुस–युक्रेन युद्धमा मारिएकाका सैनिकका परिवारलाई प्योङयाङमा आवास

लोकपथ
224
Shares

सियोल । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो ।

राज्य सञ्चारमाध्यमले सोमबार प्रसारित गरेका तस्बिरहरूमा नेता किम जोङ उनलाई नयाँ सडक ‘सेपिओल स्ट्रिट’मा हिँडिरहेको र परिवारका लागि बनाइएका घरहरूको अवलोकन गरिरहेको देखिन्छ । उनीसँग उनकी छोरी किम जु एई पनि उपस्थित रहेको बताइएको छ । किम जु एईलाई राज्य प्रचारमा बढ्दो रूपमा देखाउन थालिएको छ । सो अवसरमा उनले ‘युवा शहीदहरू’ ले मातृभूमिका लागि सबै बलिदान दिएको भन्दै उनीहरूका परिवारप्रति राज्यको दायित्व निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

हालका महिनाहरूमा प्योङयाङले युक्रेन युद्धमा सहभागी सैनिकहरूको भूमिकालाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रचार अभियान तीव्र बनाएको छ । स्मारक पर्खाल स्थापना, संग्रहालय निर्माण तथा विभिन्न सार्वजनिक कार्यक्रममार्फत युद्धमा खटिएकाहरूलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिएको छ । विश्लेषकहरूका अनुसार यस्तो कदमले बाह्य मोर्चामा संलग्नताबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई नियन्त्रण गर्दै आन्तरिक समर्थन मजबुत पार्ने उद्देश्य राखेको देखिन्छ ।

उत्तर कोरियाले हालैका महिनाहरूमा हजारौं सैनिकसँगै तोपखाना र मिसाइलसहित ठूलो परिमाणमा सैन्य सामग्री रुस पठाएको जनाइएको छ । यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्ध प्रयासलाई सघाएको विश्लेषण गरिएको छ । यहीबीच प्योङयाङले वासिङ्टनसँगको अलग्गै तनावपूर्ण सम्बन्धको सामना गरिरहेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले गत साता सांसदहरूलाई दिएको जानकारीअनुसार युद्धमा तैनाथ करिब ६ हजार उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका अनुमान गरिएको छ । यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यसअघि गतवर्ष करिब ६ सय जनाको मृत्यु भएको अनुमान प्रस्तुत गरिएको थियो । गुप्तचर अधिकारीहरूको आकलनमा उत्तर कोरियाली सेनाले आधुनिक युद्धको अनुभवसँगै रुसी प्राविधिक सहयोग पनि प्राप्त गरिरहेको छ, जसले उनीहरूको हतियार प्रणालीको कार्यक्षमता सुधार्न सहयोग पु¥याउन सक्छ ।

नयाँ आवासीय सडकको उद्घाटन यसै महिनाको अन्त्यमा हुन लागेको सत्तारूढ पार्टीको प्रमुख सम्मेलनअघि गरिएको हो । सो सम्मेलनमा किमले आगामी ५ वर्षका लागि आन्तरिक तथा वैदेशिक नीतिका प्राथमिकता सार्वजनिक गर्ने र शासन नियन्त्रण अझ कडा बनाउने थप कदम घोषणा गर्ने अपेक्षा गरिएको छ । युद्धको मोर्चाबाट फर्केका वा त्यहाँ ज्यान गुमाएकाहरूका परिवारलाई राज्यको संरक्षणमा ल्याउने यो पहललाई त्यसै रणनीतिक सन्दर्भमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?