बंगलादेशको निर्वाचनमा विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम, पुनः मतगणनाको माग

लोकपथ
308
Shares

काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेसनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ । कुल २ सय ९९ सिटका लागि भएको निर्वाचनमा पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २ सय १२ सिटमा जितेर दुई तिहाइको ऐतिहासिक रेकर्ड कायम राख्दा एनसीपीले बढीमा ५ सिट जित्ने देखिएको छ । 

बंगलादेशमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा भने फरक फरक आइरहेको छ । ‘ढाका ट्रिब्युन’ ले यो पार्टीले ४ सिट जितेको र एक सिटमा अग्रता लिएको जनाएको छ । सीएनएन र रोयटर्सले ५ सिट जितेको समाचार लेखेका छन् । सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो । 

एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प बताउने गरेको छ । यो पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।

तर अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाएको छ । सो पाटीले पुनः मतगणनाको माग गरेको छ ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्ताच्युत हुँदै भारतमा निर्वासित भएपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।

उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले बिहीबार निर्वाचन गराएको हो । तर शेख हसिनाको पार्टीलाई निर्वाचनमा प्रतिबन्ध लगाइएको थियो । 

पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले दुई तिहाइ सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?