१८ वर्षीया युवतीको सनक : घरमा सौतेनी आमा र छोराको हत्यापछि स्कुलमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउने महिला सोही विद्यालयको पूर्वविद्यार्थी भएको खुलेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणकारी १८ वर्षीया जेसी भान रूटसेलार भएको र उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित रहेको भनेर क्यानडा प्रहरीले सार्वजनिक गरेको छ । यति मात्र नभई उनी सोही विद्यालयको ‘ड्रप आउट’ विद्यार्थी भएको पनि जनाइएको छ । चार वर्षअघि मात्रै स्कुल छाडेकी उनले मंगलबार दुइटा हतियार बोकेर स्कुल प्रवेश गरेको र सो घटना गराएको जनाइएको छ ।

स्थानीय समयअनुसार मंगलबार अपराह्न उनले अन्धाधुन्ध गोली चलाउँदा उनीसहित ९ जनाको मृत्यु भएको थियो । यस्तै दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

स्कुल पुग्नुअघि उनले घरमा पनि विपद्र मच्चाएकी थिइन् । जसबाट ३९ वर्षीया सौतेनी आमा र ११ वर्षीय सौतेनी भाइको मृत्यु भएको थियो । 

ब्रिटिस कोलम्बियास्थित रोयल क्यानाडियन माउन्टेड पुलिसका डेपुटी कमिसनर ड्वेन म्याकडोनाल्डका अनुसार घटनास्थलमा पुगेका प्रहरीमाथि समेत उनले गोली चलाएकी थिइन् । प्रहरीले घटनास्थलबाट एक लामो बन्दुक र परिमार्जित ह्यान्डगन बरामद गरेको जनाएको छ।

ती युवतीलाई यसअघि प्रान्तीय मानसिक स्वास्थ्य ऐनअन्तर्गत मूल्यांकनका लागि नियन्त्रणमा लिइएको थियो । उनको घरबाट दुई वर्षअघि हतियारसमेत जफत भएको थियो । तर अपिलपछि फिर्ता गरिएको खुलेको छ । उनको हतियार अनुमतिपत्र २०२४ मा सकिएको थियो ।

घटनाको उद्देश्यबारे प्रहरीले हालसम्म केही खुलाएको छैन ।

कोलम्बिया राज्यको टम्बलर रिजको जनसंख्या  २ हजार ४ सय रहेको छ । टम्बलर रिज खानी मजदुर, शिक्षक र निर्माण व्यवसायमा संलग्न परिवारहरूको बस्ती हो । यो ठाउँमा हरेक मानिसले हरेकलाई चिन्छन् । यहाँ घर–गाडीमा ताल्चा लगाउने चलन पनि छैन । 

यो आक्रमणलाई क्यानडाको इतिहासकै सबैभन्दा घातकमध्ये एक मानिएको छ ।

क्यानडामा विगतमा पनि ठूला गोलीकाण्डका घटना भएका छन् । सन् २०२० अप्रिलमा नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए ।

त्यस्तै, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको विद्यालय गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

स्थानीय प्रान्तीय सांसद ल्यारी न्युफेल्डले समुदायले अकल्पनीय पीडा भोगेको बताउँदै यसलाई सामान्य अवस्थामा फर्काउन ठूलो साहस र प्रयास आवश्यक पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?