काठमाडौं । उजुरी दर्ता भएको ७ वर्षपछि उद्योग विभागले ट्रेडमार्क विवादमा केएफसीको पक्षमा फैसला सुनाएको छ । सोमबार उद्योग विभागले ट्रेडमार्क विवादमा केएफसीको पक्षमा फैसला सुनाएको हो ।
विभागमा केकेएफसीले आफ्नो ट्रेडमार्क आवेदन उपर दाबी विरोध गर्ने सम्बन्धमा केएफसीले विभागमा उजुरी दिएको थियो । विश्व प्रसिद्ध केन्टुकी फ्राइड चिकेन केएफसीले आफ्नो ब्रान्डमा रहेको केएफसी जस्तै झुक्काउने नाम राखेर केकेएफसी दर्ता गर्न खोजिएको भन्दै विभागमा उजुरी दिएको थियो ।
विभागमा २०७४ फागुन १५ गतेदेखि दर्ता भई भई लामो समय अड्किएको उक्त मुद्दामा सोमबार केएफसीको पक्षमा फैसला आएको हो ।
तीन वटा छुट्टाछुट्टै मुद्दामा एउटा केकेएफसीको ट्रेडमार्क दर्ता नगर्न परेको उजुरी, ट्रेडमार्क दर्ता गराइपाऊँ भन्ने निवेदन र विक्री वितरणमा रोक लगाइपाऊँ भन्ने तीन वटा मुद्दामाथि सोमबार फैसला भएको हो ।
विभागका महानिर्देशक जितेन्द्र बस्नेतबाट भएको फैसलामा तीन वटै मुद्दामा केएफसीले मुद्दा जिती केकेएफसीले मुद्दा हारेको छ । फैसलामा अब आइन्दा केकेएफसीको नामबाट कुनै पनि वस्तुको उत्पादन तथा विक्री वितरण गर्नसमेत रोक लगाइएको छ ।
यो फैसलासँगै केएफसीले आफ्नो ब्रान्ड जोगाउन गरेको प्रयास ७ वर्षपछि पूरा भएको छ ।
आफ्नो ट्रेडमार्कको नक्कली प्रयोग गरी उपभोक्तालाई झुक्काउन खोजेको भन्दै दायर मुद्दामा विभागमा अस्वाभाविक रूपमा ढिलाइ गरिएको थियो । केएफसीको तर्फबाट यसअघि नै केकेएफसीको उत्पादन र विक्री वितरणमा गर्न रोक लगाइ पाऊँ भनी अन्तरकालीन आदेशको माग भएको थियो ।
विभागमा निवेदन दर्ता भएको मितिले ७ दिनभित्र आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय गरिसक्नु पर्नेमा उक्त निवेदनमाथि समेत ७ वर्षसम्म कुनै सुनुवाइ नै भएको थिएन । जसको कारण केकेएफसीले आफ्ना उत्पादनको विक्री वितरण गरिरहेको थियो ।
विभागका कानुनतर्फका उपसचिव श्रीकृष्ण पौडेलले केएफसी र केकेएफसी विवादमा केएफसीको पक्षमा फैसला भएको बताए । यसमा केकेएफसीको ट्रेडमार्क दर्ता नहुने गरी फैसला भएको र अब विक्री वितरण गर्न नपाइने बताए ।
विभागको यो फैसलासँगै अब केकेएफसीका नामबाट आफ्नो उत्पादन र विक्री वितरण गर्न नपाउने भएको छ । यद्यपि उद्योग विभागको फैसलाविरुद्ध केकेएफसीले उच्च अदालतमा पुनरावेदन गर्न भने पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया