क्यानडामा एक महिलाले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु, २५ जना घाइते

लोकपथ
140
Shares

काठमाडौं । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरस्थित विद्यालयमा बुधबार बिहानै भएको अन्धाधुन्ध गोली प्रहारमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सो विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १ सय ७५ विद्यार्थी पढ्छन् ।

खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र उनले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएको र घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोलीकाण्डको सिकार बनेको त्यहाँको प्रहरीले जनाएको छ ।

गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले बताएको हुलियाअनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेको भनेर बताएको रोयटर्सले लेखेको छ ।

आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ । यद्यपि उनको पहिचान खुलाइएको छैन ।

गोलीकाण्डको उद्देश्य पनि खुलिसकेको छैन । 

प्रहरीका अनुसार, गोली प्रहारको जानकारी पाएपछि घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका थिए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा थाहा हुन सकेको छैन । घटनापछि विद्यालय बन्द गरिएको छ ।

प्रहरीले स्कुलमा रहेका बाँकी सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । उक्त क्षेत्रमा सुरक्षा बढाइएको छ ।

घटनापछि ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको थियो । विद्यालयले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेको छ ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले विद्यालय परिसरको अवस्था गम्भीर रहेको बताए । उनले स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय बासिन्दाले घटना व्यवस्थापनमा प्रहरीलाई सहयोग गरेको जानकारी दिए ।

गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो । यो रकमी पर्वत शृंखलाको फेदीमा पर्ने भएकाले अहिले हिउँ परिरहेको छ ।

क्यानडामा विगतमा पनि ठूला गोलीकाण्डका घटना भएका छन् । सन् २०२० अप्रिलमा नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए ।

त्यस्तै, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको विद्यालय गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?