राजनीतिको ‘हटस्पट’ मोरङ : पूराना नेता र दललाई टक्कर दिने दाउमा ‘नयाँ अनुहार’

लोकपथ
105
Shares

प्रियंका कामत

यतिबेला देशैभर चुनावी माहोल छ । फागुन २१ को चुनावमा देशका केही निर्वाचन क्षेत्र थप चर्चाको केन्द्रमा छ ।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच हुने चुनावी भिडन्तले यस क्षेत्रलाई थप रोमाञ्चक बनाएको छ ।

पुराना भनिएका दलका मुख्य नेता ओली र नयाँ शक्तिका रूपमा उदाएका नेता बालेनबिचको यो चुनावी प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरिरहेका छन् ।

यता, सर्लाही क्षेत्र नम्बर ४ मा हुने प्रतिस्पर्धा पनि निकै रोचक हुने आंकलन गरिएको छ । २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका डा. अमरेशकुमार सिंह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबिचको प्रतिष्पर्धाले पनि सबैको ध्यान खिचेको छ ।

देशभरको नजरमा पूर्वी जिल्ला झापा र मधेशको सर्लाही परिरहेको बेला पूर्वी नेपालको राजनीतिक केन्द्र मानिएको जिल्ला मोरङमा पनि यसपटकको निर्वाचनको माहोल पनि कम रोमाञ्चक छैन । कांग्रेसको किल्ला भनिएर परिचित मोरङमा यसपटक फेरि कांग्रेस भर्सेस अन्य हुने देखिन्छ ।

देशको औधौगिक राजधानीसमेत मानिएको र कोशी प्रदेशको राजधानी विराटनगर पनि यसै जिल्लामा छ । मोरङ ६ वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो । मोरङमा यसअघि २०७९ को चुनावमा तत्कालीन माओवादीसँग गठबन्धन गरेर कांग्रेसले ६ सिटमध्ये ४ सिट लडेकोमा ३ सिट जितेको थियो । १ जना स्वतन्त्रले जितेको मोरङमा एमाले र माओवादीले पनि १–१ सिट आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको समीकरण फेरिएको छ । यसपटकको प्रतिस्पर्धा बहुपक्षीय हुने देखिए पनि ६ वटै निर्वाचन क्षेत्रमा फेरि नेपाली कांग्रेस–एमाले लगायतका पूराना दलहरुसँग नयाँ आएका दलहरुको भिडन्त हुने देखिन्छ ।

कुल ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा यसपटक ६ सिटका लागि जम्मा १ सय १० जना उम्मेदवार मैदानमा छन् । तीमध्ये २५ जना स्वतन्त्र उठेका छन् । नयाँ अनुहारहरु अहिले स्थापित नेताहरूको विरासतलाई चुनौती दिने तयारी गरेका छन् ।

१८ जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा नयाँ अनुहारको अग्निपरीक्षा हुने देखिएको छ । यहाँ कांग्रेसका खड्ग फागोले मोरङ कांग्रेसका सभापति तथा पूर्वमन्त्रीसमेत रहेका डिकबहादुर लिम्बूलाई प्रतिस्थापन गरेका छन् । फागो कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री हुन् भने उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख पनि हुन् । सोही क्षेत्रमा एमालेले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ ।

सोही क्षेत्रको लेटाङ नगरपालिका निवासी खतिवडा २०७९ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार लिम्बूसँग पराजित भएका थिए । अहिले उनी जितको खोजीमा पुनः मैदानमा उत्रिएका छन् । यो क्षेत्रबाट नेकपाको उम्मेदवार बनेका कुलप्रसाद साम्बा पूर्वप्रदेश सांसद हुन् । रास्वपाले यस क्षेत्रमा अधिवक्ता समेत रहेका यज्ञमणि न्यौपानेलाई प्रतिष्पर्धामा उतारेको छ । यहाँ हर्क साम्पाङको श्रम संस्कृति पार्टीका सहित १७ जना उम्मेदवार मैदानमा छन् ।

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्र रिजालको यसपटक चुनावी मैदानमा पुनरागमन भएको छ भने एमालेले साबिक विजेता ऋषिकेश पोखरेलको ठाउँमा रंगेलीका निवर्तमान मेयर दिलीप बगडियालाई उठाएको छ । १७ जना उम्मेदवार रहेको यस क्षेत्रमा रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राई पुराना दलहरूप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने रणनीतिमा छन् । लामो समय राष्ट्रिय राजनीतिमा सक्रिय रहेका मिनेन्द्रसँग स्थानीय तहमा विकास र प्रशासनिक अनुभव भएको एमालेका ंदिलिप बगडियाको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघिका निर्वाचित सांसद तथा कांग्रेस नेता डा. सुनिल शर्मा आफ्नो विरासत जोगाउन मैदान उत्रेका छन् । एमालेले भने अघिल्लो पटक शर्माबाट पराजित भानुभक्त ढकालको साटो स्थानीय इरान राईलाई मैदानमा उतारेको छ । त्यस्तै रास्वपाबाट गणेश कार्की पनि यही क्षेत्रबाट उम्मेदवार छन् । यस क्षेत्रमा मेडिकल व्यवसायीसमेत रहेका डा. सुनिल शर्मा तुलनात्मक रूपमा लोकप्रिय मानिन्छन् । उक्त क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले डा. देवमान साम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर ४ मा लगातार २ पटक निर्वाचित सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी यसपटक फेरि नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारको रूपमा मैदानमा छन् भने उनलाई तेस्रो पटक रोक्न कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे चुनावी प्रतिष्पर्धामा छन् । उल्लेख्य मात्रामा चौधरी र राजवंशीहरूको बसोबास रहेको यस क्षेत्रमा मोदी बलियो दाबेदार मानिन्छन् । रास्वपाले सन्तोष राजवंशीलाई उम्मेदवार बनाएपछि यहाँ बहुपक्षीय भिडन्तको आँकलन गरिएको छ ।

यसपटक मोरङ क्षेत्र नम्बर ५ को चुनाव रोमाञ्चक हुने सम्भावना छ । २२ जना उम्मेदवार रहेको यहाँ गत निर्वाचनमा स्वतन्त्र जितेका योगेन्द्र मण्डल राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार बनेका छन् । उनलाई उनका पुरानै प्रतिद्वन्द्वी पूर्वमन्त्रीसमेत रहेका नेकपाका शिवकुमार मण्डलले चुनौती दिने छन् । २०७९ सालको निर्वाचनमा कांग्रेस र एमालेको उम्मेदवार नरहेको यस क्षेत्रमा यसपटक भने एमालेले मनोज अग्रवाल र कांग्रेसले फूलकुमार लालवाणीलाई उम्मेदवार बनाएको छ । यस्तै रास्वपाकी आशा झा तथा जसपाबाट राजकुमार यादव पुनः चुनावी मैदानमा छन् ।

त्यस्तै विराटनगरको मुख्य भाग समेटिएको क्षेत्र नम्बर ६ मा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पूर्वमन्त्री लालबाबु पण्डितले लड्दै आएको यस क्षेत्रमा एमालेले यसपटक ढकाललाई कोइरालाको किल्ला भत्काउन पठाएको छ । ढकाल र कोइरालाको प्रतिस्पर्धा चलिरहेको सो क्षेत्रमा रास्वपाबाट रुविना आचार्य र नेकपाबाट ओपेन्द्र रायसहित १७ जना उम्मेदवार छन् ।

त्यसो त मोरङलाई पूर्वी नेपालको मात्र नभएर नेपाली राजनीतिक रुपमा सधैँ चर्चामा रहने ठाउँ मानिन्छ । नेपाली कांग्रेसदेखि नेकपा एमालेका समेत संस्थापक नेताहरुको जन्मस्थान र चुनावी प्रतिष्पर्धा गरेको स्थान रहेकाले पनि मोरङको विराटनगर सधैँ राजनीतिको चर्चाको विषय बन्ने गरेको हो । राणा शासन अन्त्यका लागि विराटनगरको जुट मिलबाट भएको मजदुर आन्दोलन होस् या पञ्चायतविरुद्ध लड्न कांग्रेसका नेताहरुले प्लेन हाइज्याक गरेको भूमी, उही विराटनगर भएका कारण पनि राजनीतिक रुपमा ‘हटस्पट’ का रुपमा उक्त क्षेत्र रहँदै आइरहेको छ । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवेशका कारण नयाँ र पूरानाबिचको रोचक प्रतिष्पर्धा मोरङमा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?