जापानका प्रधानमन्त्री ताकाइचीले गरिन् संसद विघटन, मध्यावधि चुनाव हुँदै

लोकपथ
280
Shares

काठमाडौं । जापानमा फेब्रुअरी ८ मा मध्यावधि चुनाव हुने भएको छ ।

जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसदको तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि चुनावको घोषणा गरेकी हुन् । हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनले यो निर्णय लिएकी हुन् ।

यद्यपि, प्रधानमन्त्री ताकाइचीको यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको अन्तराष्ट्रिय समाचार संस्था अल जजिराले उल्लेख गरेको छ ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै उनले करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल भएकी छिन्, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणका बिच उनले रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गरिन् ।

चार सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि सक्रिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?