दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण, ८ पत्रकारसहित १९ जना घाइते

लोकपथ
63
Shares

काठमाडौं । दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा आठ जना पत्रकारसहित १९ जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दिउँसो निष्कासनको चेतावनी जारी गरेपछि केनारितसहित विभिन्न शहर र गाउँहरूलाई लक्षित गर्दै आक्रमण गरेको हो ।

रिपोर्टअनुसार आक्रमणका क्रममा सातभन्दा बढी भवनमा भीषण बमबारी भएको छ । घटनास्थलमा स्थलगत रिपोर्टिङ गरिरहेका आठ जना पत्रकार घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायली सेनाले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गत आपतकालीन सञ्चालन केन्द्रले जारी गरेको विज्ञप्तिमा घाइतेमध्ये दुई जनालाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको, तीन जनालाई अस्पतालमा राखिएको र १४ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको उल्लेख छ ।

यसैबिच जरजुआ र कफुर सहरहरूमा भएका थप हवाई आक्रमणले भवनहरू ध्वस्त पारेको छ भने खरायब र अन्सार गाउँहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले मानव बस्ती भएका गाउँहरूविरुद्ध इजरायलले व्यवस्थित आक्रामक नीति अपनाएको आरोप लगाएका छन् । उनले यी आक्रमणहरूलाई युद्धविराम र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आह्वान गरेका छन् ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबिच नोभेम्बर २७, २०२४ देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायली सेनाले हिजबुल्लाहबाट सुरक्षा खतरा रहेको दाबी गर्दै लेबनानमा छिटपुट आक्रमण जारी राखेको छ । साथै, लेबनानी सीमाका पाँच प्रमुख विन्दुमा इजरायली सेनाको सैन्य उपस्थिति कायमै रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?