दुबई । ह्याकरहरूले इरानको सरकारी टेलिभिजनको स्याटलाइट प्रसारण अवरुद्ध गर्दै देशका निर्वासित युवराज रेजा पहलवीलाई समर्थन गर्ने तथा सुरक्षा फौजलाई ‘जनतामाथि हतियार नउठाउन’ आग्रह गर्ने सन्देश प्रसारण गरेका छन् । सोमबार बिहान अनलाइनमा देखिएको यो अवरोध राष्ट्रव्यापी विरोध प्रदर्शनपछि भएको पछिल्लो ठूलो साइबर आक्रमण हो ।
कार्यकर्ताहरूका अनुसार प्रदर्शन दबाउन सुरक्षा निकायले गरेको कारबाहीमा हालसम्म कम्तीमा ३ हजार ९ सय १९ जनाको मृत्यु भइसकेको छ । सरकारले इन्टरनेट बन्द गरे पनि देशभित्रबाट सूचना बाहिर आइरहेकाले मृतकको संख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
यसैबीच, शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र प्रदर्शनको बहानामा सामूहिक मृत्युदण्ड लागू गर्नु अस्वीकार्य भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा ननाघ्नुपर्ने सीमा (लक्ष्मण रेखा) तोकेपछि अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ । केही दिनअघि दक्षिण चीन सागरमा रहेको एक अमेरिकी विमानवाहक सिंगापुरको मलक्का जलडमरूमध्य प्रवेश गरेको छ, जसले त्यसलाई मध्यपूर्वतर्फ लैजान सक्ने मार्गमा राखेको देखिन्छ ।
आइतबार राति इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का स्याटलाइट च्यानलहरूमा अचानक ह्याक गरिएको फुटेज देखिएको थियो । भिडियोमा युवराज पहलवीका दुई क्लिप प्रसारण भए, जसपछि सुरक्षा फौज र प्रहरीको वर्दीमा देखिएका व्यक्तिहरू ‘हतियार राखेर जनताप्रति निष्ठा जनाएको’ दाबी गरियो । एक ग्राफिकमा ‘यो सेना र सुरक्षा बलहरूका लागि सन्देश हो, आफ्ना हतियारहरू जनतामाथि नउठाउनुहोस्’ भन्ने आह्वान गरिएको थियो ।
रिभोलुसनरी गार्डसँग नजिक मानिने फार्स समाचार एजेन्सीले आइआरआइबीको वक्तव्य उद्धृत गर्दै ‘देशका केही क्षेत्रहरूमा अज्ञात स्रोतबाट क्षणिक अवरोध’ भएको स्वीकार गरेको छ तर के प्रसारण भयो भन्नेबारे स्पष्ट गरिएको छैन । युवराज पहलवीको कार्यालयले अवरोध भएको स्वीकार गरे पनि ह्याकसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिएको छैन ।
ह्याक गरिएको प्रसारणमा युवराज पहलवीले सुरक्षा फौजलाई सम्बोधन गर्दै ‘तपाईंहरू इरानको राष्ट्रिय सेना हुनुहुन्छ, इस्लामिक गणतन्त्रको होइन’ भन्दै सकेसम्म चाँडो जनतामा सामेल हुन आग्रह गरेका थिए । इन्टरनेट बन्दका कारण विदेशमा रहेका इरानीहरूले स्टारलिंकजस्ता माध्यम प्रयोग गरी सामाजिक सञ्जालमा फुटेज साझा गरेको देखिन्छ ।
इरानमा प्रसारण अवरुद्ध हुने यो पहिलो घटना होइन । सन् १९८६ मा सीआईएले पहलवीका समर्थकलाई सानो ट्रान्समिटर उपलब्ध गराई छोटो समयका लागि सरकारी च्यानल ह्याक गराएको वासिङ्टन पोस्टले उल्लेख गरेको थियो । सन् २०२२ मा पनि विपक्षी समूह र सर्वोच्च नेता अयातुल्ला अलि खामेनीविरुद्धका सन्देशहरू प्रसारण भएका थिए ।
यसैबीच, जहाज ट्र्याकिङ डाटाले युएसएस अब्राहम लिंकन विमान वाहक र त्यससँगै रहेका अमेरिकी युद्धपोतहरू मलक्का जलडमरूमध्य हुँदै अघि बढेको देखाएको छ । यद्यपि ती जहाजहरू मध्यपूर्व पुग्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
मानव अधिकार समूहहरूका अनुसार हालको दमन दशकौँयताकै सबैभन्दा घातक भएको छ । अमेरिका–आधारित एक मानव अधिकार समाचार एजेन्सीले मृत्यु संख्या ३ हजार ९ सय १९ पुगेको बताएको छ, यद्यपि एपीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानी अधिकारीहरूले आधिकारिक तथ्यांक नदिए पनि सर्वोच्च नेता खामेनीले शनिबार ‘धेरै हजार’ मानिस मारिएको दाबी गर्दै त्यसको दोष संयुक्त राज्य अमेरिकालाई दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया