पूरा भयो ट्रम्पको नोबेल शान्ति पुरस्कार पाउने सपना 

लोकपथ
511
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोबेल शान्ति पुरस्कार पाउने सपना पूरा भएको छ । 

ट्रम्पले लामो समयदेखि खुलेआम नोबेल पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन् । पुरस्कार नदिएको भन्दै उनले नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गरे । 

ट्रम्पको यस्तो लगातारको बयानबाजीका बाबजुद गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो । मचाडोको नाम घोषणा भएदेखि नै ट्रम्पले सामाजिक सञ्जाल, पत्रकारलाई सम्मेलनलगायत विभिन्न अन्तर्वार्तामा असन्तुष्टि व्यक्त गर्दै आएका छन् र यस घोषणालाई आफूले नमान्ने पनि बताउँदै आएका छन् । 

ट्रम्पले नोबेल पुरस्कार नपाएकै कारण पनि उनले भेनेजुएलामाथि रिसइबीको रूपमा सैनिक आक्रमण गरेर आफ्नो शक्ति प्रदर्शन गरेको कतिपयको बुझाई छ । यदि यस्तो हो भने उनको योजना अब सफल भएको मान्न सकिन्छ । ट्रम्पले यदि मचादोले आफूखुसी उक्त पुरस्कार आफूलाई हस्तान्तरण गरेमा आफूले स्वीकार गर्ने पनि सार्वजनिकरुपमै भन्दै आएका थिए । र, अन्ततः मचोदाले आफूले पाएको पुरस्कार ट्रम्पलाई दिने निर्णय गरिन् । 

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी छन् । दुई नेताबिचको पहिलो प्रत्यक्ष भेटवार्तापछि मचादोले यसलाई भेनेजुएली जनताका लागि एक ऐतिहासिक दिनको रूपमा चित्रण गरिन् । 

अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकासबाट नियन्त्रणमा लिई लागू औषध ओसारपसारको मुद्दा चलाएको केही हप्तापछि यो भेट भएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत मचादोको यस कदमलाई आपसी सम्मानको एक अद्भूत भाव भन्दै कृतज्ञता व्यक्त गरेका छन् । 

ट्रम्पले मचादोलाई धेरै कष्ट भोगेकी एक अद्भूत महिला र स्वतन्त्रता सेनानीको संज्ञा दिए तापनि उनलाई भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न भने अस्वीकार गरेका छन् । 

सन् २०२४ को विवादित निर्वाचनमा जीतको दाबी गरेकी मचादोको साटो ट्रम्पले मादुरो सरकारकी पूर्व उपराष्ट्रपति तथा हालकी कार्यवाहक राष्ट्रप्रमुख डेल्सी रोड्रिगेजसँग सम्बन्ध विस्तार गरिरहेका छन् । ट्रम्पले मचादोसँग पर्याप्त आन्तरिक समर्थन नरहेको तर्क गर्दै उनलाई सत्ता सुम्पने कुरामा असहमति जनाउँदै आएका छन् ।

ह्वाइट हाउस बाहिर जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै मचादोले भेनेजुएलाले ट्रम्पमाथि भरोसा गर्न सक्ने बताइन् । यद्यपि, नोबेल कमिटीले भने मचादोको यस कदमप्रति असन्तुष्टि जनाएको छ । कमिटीले नोबेल पुरस्कार एक पटक घोषणा भइसकेपछि त्यो कसैलाई हस्तान्तरण गर्न वा बाँड्न नमिल्ने र यो निर्णय अन्तिम हुने स्पष्ट पारेको छ । पदकको स्वामित्व परिवर्तन हुन सके पनि विजेताको पदवी भने हस्तान्तरण हुन नसक्ने नोबेल पिस सेन्टरको सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा उल्लेख छ । 

यसैबिच, मादुरोको बहिर्गमनपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्रलाई पुनर्गठन गर्ने प्रक्रिया तीव्र पारेको छ । अमेरिकाले हालै ५ सय मिलियन डलर बराबरको भेनेजुएली तेलको पहिलो बिक्री सम्पन्न गरेको छ भने प्रतिबन्धित तेल ओसार्ने शंकामा धेरै ट्यांकरहरूलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?