बद्ध एयरले गर्‍यो यात्री उमेश मोक्तानलाई नगद एक लाखको पुरस्कारसहित सम्मान

लोकपथ
616
Shares

काठमाडौं । बुद्ध एयरले यात्री उमेश मोक्तानलाई नगद एक लाख रुपैयाँको पुरस्कारसहित सम्मान गरेको छ । गत जनवरी २ मा झापाको भद्रपुरमा भएको दुर्घटनामा साहसिक काम गरेको भन्दै मोक्तानलाई सम्मान गरिएको हो ।

गत जनवरी २ अर्थात् पुस १८ गते काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ को जहाज दुर्घटनामा परेको थियो । रनवेबाट चिप्लिएर नजिकैको खाल्डो र नालीमा जहाज पुगेपछि अत्तालिएका यात्रीहरूको उद्धार गर्न मोक्तानले भूमिका खेलेका थिए ।

सोही विमानमा यात्रु रहेका मोक्तानले दुर्घटना लगत्तै अत्तालिएका अन्य यात्रुहरूलाई समेत अगाडितर्फको दायाँ ढोका खोल्न सहयोग गरी सुरक्षित रूपमा बाहिर निकालेका थिए । सोही कार्यको सम्मान गर्दै बुद्ध एयरले मंगलबार भद्रपुर विमानस्थलमा मोक्तानलाई सम्मान गर्दै नगद एक लाख रुपैयाँको पुरस्कारसमेत प्रदान गरेको हो ।

बुद्ध एयरले मोक्तानलाई मंगलबार सम्मान व्यक्त गर्दै कठिन परिस्थितिमा गरेका सहयोग र उद्धारका लागि धन्यवादसमेत दिएको छ । उनलाई मंगलबार नै एयरलाइन्सका तर्फबाट एक लाख रुपैयाँको चेकसमेत हस्तान्तरण गरिएको छ ।

गत पुस १८ गते भएको दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज रनवेबाट चिप्लिएर नालीमा पुग्दा केही यात्रु भने सामान्य घाइते भएका थिए ।

उक्त दुर्घटनाको सम्बन्धमा अहिले छानबिन भइरहेको छ ।

केही अध्ययनले दुर्घटनाको कारणमा रनवेको दूरी कम रहनु देखाएको छ । जहाजले जुन स्थानबाट ल्यान्ड सुरु गर्नुपर्ने हो, त्यसभन्दा निकै पर पुगेर मात्रै ल्यान्ड गरेको कारण रनवे नपुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?