अमेरिकी आक्रमणपछि भेनेजुएला : क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हट्यो, भोलि सुरक्षा परिषद्को आपतकालीन बैठक

लोकपथ
910
Shares

काराकार । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।

राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसंख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् । 

स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ । सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए । काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डर लाग्दो भएको बताए । 

शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।

आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गरे । 

प्रदर्शनकारीबाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोसाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रीय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित संख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।

विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन् । 

भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको थियो, जहाँ उहाँहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ ।

अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी काराकास तथा वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र त्यसपछि नियमित उडानहरू पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् । उनका अनुसार सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक सूचना दिइसकिएको छ र उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ ।

यसअघि अमेरिकी संघीय उड्डयन निकायले जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख गर्दै उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो ।

भेनेजुएलाको अवस्थाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो ।

सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?