काठमाडौं । नियोसी भ्यानको आधिकारिक आयातकर्ता एम्बर मोटर्सले नियोसी (नियोसिया) भ्यानको विक्री वितरणमा कुनै कानुनी समस्या नरहेको दाबी गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले नियोसी ब्रान्डको भ्यानको विक्री वितरणमा कुनै रोकावट नहुने बताएको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै एम्बर मोटर्सले नियोसी ब्रान्डको इलेक्ट्रिक भ्यानको विक्रीमा लागेको भनिएको प्रतिबन्धको समाचारमा सत्यता नभएको दाबी गरेको हो ।
एम्बर मोटर्सले समाचारप्रति खेद प्रकट गर्दै केवाइसी र नियोसी एउटै ब्रान्ड नभएको र सिजी मोटर्सले काठमाडौं जिल्ला अदालतमा दायर गरेको चोंगुइन क्यूयी ग्रुप कम्पनी लिमिटेडविरुद्ध हालेको मुद्दामा नियोसीले कुनै सरोकार नराख्ने दाबी गरेको हो ।
विज्ञप्तिमा एम्बर मोटर्स प्रालिले आयात तथा बिक्री वितरण गर्दै आएको नियोसी ब्रान्डका भ्यानहरू रोक लगाउनको निमित्त उच्च अदालत पाटनमा दायर भएको रिट खारेज भएको र अदालतबाटै केवाइसी र नियोसी फरक ब्रान्ड रहेको विषय स्थापित भइसकेको दाबी गरेको छ । साथै नियोसी ब्रान्डका भ्यानहरू निर्वाधरुपमा विक्री वितरण गर्न पाउने गरी उच्च अदालतबाट आदेश भएको समेत दाबी गरेको छ ।
यस्तो अवस्थामा सिजी मोटर्सले चिनिया कम्पनीविरुद्ध हालेको करारको उल्लंघनसम्बन्धी मुद्दामा गत पुस ८ गते भएको आदेशमा नियोसीमाथि समेत रोक लगाएको भनी भ्रामक समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै आपत्ति जनाएको हो ।
काठमाडौं जिल्ला अदालतको आदेश दुई पक्षको करारको परिपालना सम्बन्धी विवादमा केन्द्रित रहेको र नियोसी लगायतका तेश्रो पक्ष विरुद्ध उक्त आदेश जारी नभएको भन्दै नियोसीको विक्री वितरण नरोकिने जनाएको छ ।
साथै नियोसी ब्रान्डका भ्यानको विक्री र विक्रीपछिको सेवा अर्थात् आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिने दाबी गर्दै निर्वाधरुपमा नियोसीको खरिद र विक्री गर्न भनिएको छ ।
हेर्नुहोस्, एम्बर मोटर्सबाट जारी विज्ञप्ति ।

एम्बर मोटर्सले केवाइसी र नियोसीमा कुनै समानता नरहेको र फरक फरक ब्रान्ड रहेकाले विक्री वितरण नियमित हुने दाबी गरे पनि उच्च अदालत पाटनमा सिजी मोटर्सले भने केवाइसी र नियोसीको सबै स्पेशीफिकेसन समान रहेको, एउटै उत्पादकबाट उत्पादन भएको र ब्रान्ड मात्रै फरक पारेर विक्री गर्न खोजिएको भन्दै उक्त भ्यानमाथि रोक लगाउन रिट दिएको थियो । उक्त रिट खारेज गर्दै सुरु काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दाका सम्बन्धमा हुने आदेश वा फैसला अनुरूप हुने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया