रुस-युक्रेन युद्ध अन्त्यको छलफलका लागि जेलेन्स्कीले आइतबार ट्रम्पसँग भेट्ने

लोकपथ
63
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेट गर्ने भएका छन् । जेलेन्स्कीका अनुसार यो भेटमा अमेरिकी मध्यस्थतामा तयार पारिएको शान्ति योजना र युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति प्रस्ताव मुख्य एजेन्डा हुनेछन् ।

तर, एक वरिष्ठ रुसी अधिकारीले उक्त योजना अमेरिकासँग छलफल गरिरहेको योजना भन्दा फरक भएको टिप्पणी गरेका छन् । क्रेमलिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता बोलाउने जेलेन्स्कीको प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जेलेन्स्कीले रुसले पनि आफ्ना सेना फिर्ता बोलाए युक्रेन तयार रहेको संकेत दिएका छन् ।

यता, नयाँ रुसी हवाई आक्रमणमा राजधानी किभमा कम्तीमा पाँच जना घाइते भएका छन् भने किभ क्षेत्रमै एक जना अन्य व्यक्ति घाइते भएको नगर प्रमुख भिटाली क्लिच्कोले जानकारी दिएका छन् । आक्रमणलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले प्रतिकार गरिरहेको थियो र सहरमा विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। युक्रेनी वायु सेनाले देशभर ड्रोन र क्षेप्यास्त्रको खतरा कायम रहेको चेतावनी जारी गरेको छ ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरीय आक्रमण सुरु गरेको थियो। हाल रुसले युक्रेनको डोनेट्स्क क्षेत्रको करिब ७५ प्रतिशत र लुहान्स्क क्षेत्रको झण्डै ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ। यी दुवै क्षेत्रलाई संयुक्त रूपमा डोनबास भनिन्छ ।

जेलेन्स्कीले शान्ति सम्झौताका सन्दर्भमा अमेरिकाबाट सुरक्षा प्रत्याभूति खोज्दै आएका छन् । उनले बल प्रयोग गरेर कब्जा गर्न नसकेका डोनबासका केही क्षेत्रलाई ‘निशस्त्रीकृत स्वतन्त्र आर्थिक क्षेत्र’ बनाउने विकल्पसमेत अघि सारेका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले २० बुँदे शान्ति योजना ९० प्रतिशत तयार भइसकेको बताएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले भने जेलेन्स्की ‘मेरो स्वीकृति नपाएसम्म केही पनि पाउँदैनन्’ भन्दै, पुटिनसँग छिट्टै कुरा गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?