बंगलादेशमा हिन्दु युवकको हत्या प्रकरण : १० जना पक्राउ

लोकपथ
581
Shares
फाइल तस्बिर

काठमाडौं । बंगलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवक दिपुचन्द्र दासको कुटपिट गरी हत्या गरिएको घटनामा कम्तीमा १० जनालाई पक्राउ गरिएको छ ।

र्‍यापिड एक्सन बटालियन (आरएबी) ले सात जना र प्रहरीले अन्य तीन जना संदिग्धलाई पक्राउ गरेको जनाएको छ । पक्राउबारे बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।

प्रारम्भिक विवरणअनुसार ईश्वरनिन्दाको आरोप लगाउँदै भीडले दिपुचन्द्र दासमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको हो । घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायमाथि बढ्दो हिंसाप्रति गम्भीर चिन्ता पैदा गरेको छ ।

बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्ले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्युपछि देशमा बढेको तनावको बीचमा यो घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बंगलादेशी अधिकारीहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?