काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध मानहानि र व्यापार अभ्यास कानुन उल्लंघन गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेका छन् ।
राष्ट्रपति ट्रम्पले बीबीसीविरुद्ध मानहानि र व्यापार अभ्यास कानुन उल्लंघनको आरोप लगाउँदै फ्लोरिडाको अदालतमा मुद्दा दायर गरेका हुन् ।
बीबीसीको पानोरमा वृत्तचित्रमा जनवरी ६, २०२१ को आफ्नो भाषणलाई जानिजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा सम्पादन गरेर प्रस्तुत गरेको दाबी गर्दै ट्रम्पले प्रत्येक दाबीका लागि ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । बीबीसीले आफ्नो सम्पादनले ट्रम्पको हिंसात्मक कारबाहीका लागि प्रत्यक्ष आह्वान गरेको भन्ने भ्रमपूर्ण छाप दिएको स्वीकार गरे पनि क्षतिको मागलाई भने आधारहीन भन्दै अस्वीकार गरेको छ ।
बीबीसीको ‘पानोरमा’ कार्यक्रममा उनको जनवरी ६, २०२१ को भाषणको अंशलाई भ्रामक तरिकाले सम्पादन गरिएको उनको भनाइ छ । अदालतमा दायर गरिएका कागजातहरूमा ट्रम्पले बेलायती प्रसारण संस्थामाथि जानिजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा आफ्नो भाषण बिगारेको आरोप लगाएका छन् ।
त्यस दिन अमेरिकी क्यापिटलमा भएको दंगाअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटलतिर जानेछौँ र हाम्रा बहादुर सिनेटरहरू र कंग्रेसका पुरुष र महिलाहरूको जयजयकार गर्नेछौँ ।’ यसको करिब ५० मिनेटपछि उनले थपेका थिए, ‘र हामी लड्छौँ । हामी कडासँग लड्छौँ ।’
तर, बीबीसीको पानोरमा कार्यक्रममा सम्पादित क्लिपमा ट्रम्पलाई यसो भन्दै देखाइएको थियो ‘हामी क्यापिटलतिर जानेछौँ र म तपाईंहरूसँगै हुनेछु र हामी लड्छौँ । हामी कडासँग लड्छौँ ।’ ट्रम्पको भनाइको ५० मिनेटभन्दा बढीको अन्तरलाई हटाइएकाले उक्त सम्पादनले भाषणको आशय नै परिवर्तन गरेको ट्रम्प पक्षको दाबी छ ।
बीबीसीले सो सम्पादनले ट्रम्पले ‘हिंसात्मक कारबाहीका लागि प्रत्यक्ष आह्वान गरेको’ भन्ने ‘भ्रमपूर्ण छाप’ दिएको स्वीकार गरेको छ र यस विषयमा ट्रम्पसँग माफी पनि मागेको छ भने मानहानिको दाबीको कुनै आधार नभएको भन्दै ट्रम्पको ५ अर्ब डलरको क्षतिपूर्तिको मागलाई अस्वीकार गरेको छ ।
ट्रम्पले मुद्दा दायर गर्नुअघि नै बीबीसीका वकिलहरूले सम्पादनमा कुनै दुर्भावना नभएको र ट्रम्पलाई कार्यक्रमले कुनै हानि नगरेको जिकिर गरेका थिए । नोभेम्बरमा एउटा आन्तरिक बीबीसी मेमो लिक भएपछि भाषणको सम्पादनको विषयले ठूलो आलोचना खेपेको थियो, जसका कारण बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिनुपरेको थियो ।
बीबीसीले भने अहिलेसम्म यस मुद्दामा औपचारिक जवाफ दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया