राष्ट्रसंघ महासचिव गुटेरेसद्वारा शान्ति सेनामाथि भएको घातक विमान हमलाको निन्दा

लोकपथ
763
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन् । 

यो हमला संयुक्त राष्ट्रसंघको अन्तरिम सुरक्षा बल अबिएको लजिस्टिक बेसलाई लक्षित गरी गरिएको थियो । 

‘संयुक्त राष्ट्रसंघका शान्ति सेनालाई लक्षित गरी गरिने हमलाहरू अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुन सक्छन्,’ महासचिव गुटेरेसले रियादबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण कोर्दोफानमा शान्ति सेनाविरुद्ध आज भएको जस्तो हमला न्यायोचित हुन सक्दैन । यसको जबाफदेहिता कायम हुनुपर्छ ।’

महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त हमलाका कारण ६ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै ८ जना घाइते भएको उल्लेख छ । मृतक र घाइते सबै एबीएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बंगलादेशी शान्ति सैनिक हुन् । 

महासचिव गुटेरेसले बंगलादेश सरकार र जनताप्रति तथा ज्यान गुमाएका शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सुडानको सेना र सार्वभौम परिषद्ले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसमाथि यो हमला गरेको आरोप लगाउँदै महासचिव गुटेरेसले यसलाई आतंकवादी कार्यको संज्ञा दिएका छन् । 

उनले सुडानमा जारी द्वन्द्व अन्त्य गर्न तत्काल युद्धविराम, वार्ता पुनः प्रारम्भ र सुडानी स्वामित्वमा आधारित समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन सबै पक्षलाई पुनः आह्वान गरेका छन् ।

त्यस्तै, सुडानी सशस्त्र सेनाले उक्त आक्रमण अर्धसैनिक द्रुत समर्थन बलले गरेको आरोप लगाएको भए पनि ती बलले आरोप अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?