नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासो : दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक

लोकपथ
42
Shares

काठमाडौं । चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँका साना र मझौला व्यवसायीहरूले नेपालका व्यवसायीसँग सहकार्य र व्यापार प्रवर्द्धनमा चासो देखाएका छन् ।

नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि टोलीले संघीय तथा प्रदेश सरकारका मन्त्री, सचिवसँग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न तयार रहेको बताएका हुन् । 

टोलीले नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उपयुक्त अवसर प्रदान गर्न आफूहरू इच्छुक रहेको बताएका छन् ।

चिनियाँ टोली बागमती प्रदेशका उद्योग मन्त्री विन्दु श्रेष्ठसँग साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा भेट गरेको थियो । टोलीको नेतृत्व ग्वाङदोङ प्रान्त उद्योग, सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङले गरेका थिए । उपमहानिर्देशक वानले साना तथा मझौला व्यवसायीको विकास र विस्तारमा सधैँ सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

टोलीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र संघीय उद्योग मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेको थियो । टोलीमा उपमहानिर्देशक वान सुपिङसँगै उद्योग सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक फान गुवालियाङ्ग, चीन अन्तर्राष्ट्रिय एसएमई मेलाका उपनिर्देशक हुआङ्ग जिआनजुन, ब्युरोका सहायक अनुसन्धानकर्ता सु जिआन र सदस्य पिटर चेन सहभागी थिए ।

चिनियाँ व्यवसायी टोलीले साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी तथा नेपाली व्यवसायीसँग छलफल गर्दै नेपाली उत्पादनको चीनमा उच्च माग रहेको र बजार विस्तारका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । टोलीले दुई देशबिच व्यवसाय प्रवर्द्धनका साथै सीप र प्रविधि आदान–प्रदानमा पनि चासो देखाएको छ ।

कार्यक्रममा महासंघ अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता दिएर सहभागी गराउन सहयोग गर्न आग्रह गरे । टोलीले नेपाली व्यवसायीका उत्पादनको अवलोकन गर्नुका साथै ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको भ्रमण पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?