काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो । उनलाई ब्रेक क्यान्डी अस्पतालमा उपचारका लागि राखिएको थियो ।
सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रका ‘शोले’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता फिल्महरू चर्चित छन् ।
धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । उनको अन्तिम फिल्म ‘इक्किस’ भने प्रदर्शन हुन बाँकी नै छ । उक्त फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो । उनले तीन सय भन्दा बढी फिल्म खेलेका छन् ।
उनले सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका थिए ।
धर्मेन्द्रका श्रीमती हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन् । उनको परिवार यतिखेर पवन हंश आर्यघाटमा अन्तिम संस्कारका लागि पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पत्नी हेमा मालिनी र छोरी इशा देवललगायत अमिताभ बच्चन, आमिर खानलगायतका बलिउड हस्ती आर्यघाट प्रस्थान गरिसकेका छन् ।
यतिखेर बलिउड फिल्मकर्मीले धर्मेन्द्रलाई धेरैले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्ति गरेका छन् । उनले भनेका छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहनु हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया