वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीले आगामी शुक्रबार भेट गर्ने भएका छन् । चुनावी अभियानका क्रममा ममदानीलाई कठोर शब्दमा आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत ओभल अफिसमा नोभेम्बर २१ का लागि बैठक तय भएको पुष्टि गरेका हुन् ।
नवनिर्वाचित मेयर ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै उक्त भेट सुनिश्चित भएको जानकारी दिँदै सार्वजनिक सुरक्षा, आर्थिक अवस्था तथा किफायती जीवनशैली सुनिश्चित गर्ने ममदानीका प्राथमिकताबारे राष्ट्रपतिसँग विस्तृत छलफल हुने जनाएका छन् ।
क्वीन्समा हुर्केका भए पनि ट्रम्प र ममदानीबिच राजनीतिक दृष्टिकोण र सोचमा ठुलो अन्तर देखिएको छ । ट्रम्पले आफ्ना आर्थिक उपलब्धि बताउँदा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई अगाडि राख्दै आएका छन् भने ममदानीले किफायती आवास, बाल हेरचाह सेवा, निःशुल्क बस यात्रा तथा नगरद्वारा सञ्चालित किराना पसलजस्ता सामाजिक सुविधालाई प्राथमिकता दिने घोषणा गरेका छन् ।
सन् १९६९ पछि न्युयोर्कमा १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवार बनेका ममदानीका एजेन्डा आदर्शवादी भए पनि कार्यान्वयनमा चुनौती रहने विश्लेषकहरूको बुझाइ छ ।
चुनावी प्रचारका क्रममा ट्रम्पले आप्रवासी–विरोधी अभिव्यक्ति र ममदानीको नामलाई उपहास गर्दै आलोचना गर्दै आएका थिए । अमेरिकाको सबैभन्दा ठुलो सहरमा मुस्लिम मेयर निर्वाचित भएपछि संघीय कोष कटौती गर्ने चेतावनी समेत उनले दिएका थिए । ‘मन्डामी, नाम जे भए पनि’ भन्दै ममदानीको नाम जानाजानी गलत उच्चारण गरेको उनकै हालैको वक्तव्यले फेरि चर्चा पाएको छ ।
यसैबिच , ममदानीले पनि ट्रम्पविरुद्ध आक्रामक शैली कायम राख्दै विजय र्यालीमा ‘डोनाल्ड ट्रम्प, मसँग तपाईँका लागि चार शब्द छन् आवाज बढाउनुहोस् !’ भन्दै प्रत्यक्ष जवाफ दिएका थिए ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेको पुष्टि गरेसँगै यी दुईबिच हुने शुक्रबारको भेटलाई अमेरिकी राजनीतिक वृत्तले विशेष ध्यानका साथ हेरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया