वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बिल क्लिन्टन र दिवंगत यौन अपराधी जेफ्री एपस्टिनबिचको सम्बन्धबारे छानबिन गर्न न्याय विभागलाई आग्रह गरेका छन् । एपस्टिनसँग ट्रम्पकै सम्पर्कबारे नयाँ इमेल सार्वजनिक भएको केही दिनमै ट्रम्पको यो कदम आएको हो ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले ती इमेलहरूलाई झूट र ध्यान भङ्ग गर्ने प्रयास को रूपमा व्याख्या गरे । उनले इमेल प्रकरणलाई सन् २०१६ मा रुसी हस्तक्षेप र आफ्नो चुनावी अभियानबारे भएको अनुसन्धानसँग तुलना गरे ।
ट्रम्पले लेखे, ‘यो अर्को रुस घोटाला हो, जसमा सबै तीर डेमोक्रेट्सतर्फ लक्षित छन् ।’ उनले आफूविरुद्धको छानबिनलाई डेमोक्रेट्स र ठुला वित्तीय संस्थाहरूको षड्यन्त्र भएको दाबी गरे ।
एपस्टिनसँग डेमोक्रेटिक पार्टीको सम्बन्ध आफ्नो भन्दा गहिरो रहेको जिकिर गर्दै ट्रम्पले भने, ‘एपस्टिन डेमोक्रेट थिए, र उनी रिपब्लिकनको समस्या होइन, डेमोक्रेटहरूको समस्या हुन् ।
ट्रम्पले अर्को पोस्टमार्फत फ्लोरिडाकी पूर्व महान्यायाधिवक्ता पाम बोन्डीलाई क्लिन्टन, उनका पूर्व अर्थमन्त्री ल्यारी समर्स, अमेरिकी अर्ब पति रीड होफम्यान र बैंक जेपी मोर्गन चेसबारे पनि छानबिन गर्न आग्रह गर्ने बताए ।
एपस्टिन प्रकरण फेरि राजनीतिक केन्द्रमा आएसँगै अमेरिकी राजनीतिमा आरोप–प्रत्यारोप तीव्र बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया