वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले दक्षिण अफ्रिकामा गम्भीर मानवअधिकार उल्लङ्घन भइरहेकाले अमेरिका उक्त सम्मेलनमा सहभागी नहुने बताएका हुन् । नोभेम्बर २२ र २३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन हुने तय छ ।
ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले ल्याएको जमिनसम्बन्धी कानुनले श्वेत किसानहरूको जमिन जफत गर्दै आएको छ । उनले अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेत समुदायमाथि अत्याचार भइरहेको आरोप समेत लगाएका छन् ।
‘जबसम्म यी मानवअधिकार उल्लङ्घनहरू रोकिँदैनन्, कुनै पनि अमेरिकी अधिकारी दक्षिण अफ्रिका जाने छैन,‘ ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन् ।
ट्रम्पले सन् २०२६ को जी–२० सम्मेलन अमेरिकाको मियामी, फ्लोरिडामा आयोजना गर्ने इच्छा पनि व्यक्त गरेका छन् । ट्रम्पको घोषणापछि सम्मेलनमा सहभागी हुने तयारीमा रहेका उपराष्ट्रपति जेडी भान्स पनि नजाने भएका छन् ।
दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयले ट्रम्पको निर्णयलाई दुर्भाग्यपूर्ण बताउँदै, श्वेतहरूमाथि अत्याचार भइरहेको भन्ने दाबी असत्य भएको प्रतिक्रिया दिएको छ । मन्त्रालयले दक्षिण अफ्रिकाले सहअस्तित्व र एकताको सन्देश विश्वभर फैलाउने प्रयास गरिरहेको जनाएको छ ।
यसअघि पनि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकामा भएको जी–२० विदेशमन्त्रीस्तरीय बैठक बहिष्कार गरेका थिए ।
दक्षिण अफ्रिका हाल जी–२० को अध्यक्ष देश हो र आगामी वर्षपछि अमेरिकाले अध्यक्षता लिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया