सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

लोकपथ
294
Shares

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले अबदेखि रूसी नागरिकलाई दिइँदै आएको मल्टिपल इन्ट्री भिसा बन्द गर्ने निर्णय गरेको छ ।

इयूले युक्रेन युद्ध सुरु भएको चार वर्षपछि युरोपमा सुरक्षा जोखिम बढेको भन्दै यो निर्णय गरेको हो ।

इयूका विदेश मामिला प्रमुख काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘युरोपमा आक्रमण गर्ने र त्यसै समयमा स्वतन्त्र रूपमा घुम्ने अपेक्षा राख्नु कठिन कुरा हो ।’

उनका अनुसार युरोपेली भूमिमा भइरहेका ड्रोन आक्रमण र तोडफोडका घटनापछि रूसी नागरिकका लागि भिसा नियम कडा पारिएको हो ।

अब रूसी नागरिकले इयू देशहरूमा यात्रा गर्न हरेक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले आवेदकको नजिकबाट बारम्बार जाँच गर्न सजिलो हुने इयूले बताएको छ ।

तर, स्वतन्त्र पत्रकार र मानव अधिकारकर्मीहरूका लागि अपवाद हुने इयूले स्पष्ट पारेको छ ।

गत महिनामै इयूले इयूमा कार्यरत रूसी कूटनीतिज्ञहरूको यात्रामा पनि कडा नियन्त्रण गरेको थियो ।

रूसप्रति कडा नीति अपनाउने केही देशहरूले युद्धको बीचमा रूसी नागरिकलाई पर्यटकका रूपमा सहज यात्रा गर्न नदिने अडान राख्दै आएका छन् ।

सन् २०२२ मा इयूले रूससँगको भिसा सहजीकरण सम्झौता निलम्बन गरेको थियो। त्यसपछि रूसीहरूलाई दिइने भिसाको संख्या घट्दै गएको छ युद्धअघि झन्डै ४० लाख भिसा जारी गरिँथ्यो भने अहिले करिब पाँच लाखमा सीमित छ ।

फ्रान्स, स्पेन र इटालीजस्ता देशहरूले सबैभन्दा धेरै भिसा दिने देशका रूपमा पहिचान भएका छन् ।

तर, क्रेमलिनका विरोधीहरूले इयूलाई सबै रूसी नागरिकलाई अलग नगर्न आग्रह गरेका छन् । विपक्षी नेतृ युलिया नाभाल्नायाले भनिन्, ‘सामान्य रूसीमाथि व्यापक प्रतिबन्ध लगाउनु गल्ती हुनेछ । यसले सबै रूसीप्रति युरोप शत्रुतापूर्ण छ भन्ने पुटिनको प्रचारलाई बल पुर्‍याउँछ ।’

उनले इयूलाई राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यक्तिलाई मात्र निशाना बनाउन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?