भेनेजुएलाभित्र स्थलआक्रमण गर्नेबारे कुनै निर्णय भएको छैन : ट्रम्प

लोकपथ
56
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा स्थलगत ९जमिन० आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नलिएको बताएका छन् ।

उनले भेनेजुएलाभित्रका सैन्य सुविधाहरूमा अमेरिकी आक्रमण हुने सम्भावनासम्बन्धी विभिन्न मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेका छन् ।

यसअघि अमेरिकी मिडिया मियामी हेराल्ड ले ट्रम्प प्रशासनले भेनेजुएलाभित्रका सैन्य प्रतिष्ठानहरूमा हमला गर्ने तयारी पूरा गरेको र त्यो कदम केही दिन वा घण्टाभित्रै चालिन सक्ने दाबी गरेको थियो ।

सेप्टेम्बर २ देखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध अभियान चलाउँदै अन्तर्राष्ट्रिय पानीमा १५ वटा जहाज डुबाएको बताइएको छ । 

ती घटनामा कम्तीमा ६१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अमेरिकी मिडियाका अनुसार प्रतिनिधि सभामा बिहीबार आयोजित एक गोप्य ब्रीफिङमा पेन्टागन अधिकारीहरूले ती आक्रमणमा मारिएका व्यक्तिहरूको पहिचान अझै नखुलिएको स्वीकृति दिएका छन् ।

विगतका हप्ताहरूमा क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको गतिविधि र सैन्य संरचना विस्तार तीन दशकयताकै सबैभन्दा ठुलो भएको बताइन्छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी कदमलाई आफ्नो सरकारलाई अस्थिर पार्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयत्नको रूपमा व्याख्या गर्दै कडा आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?