काठमाडौं । केही समय अगाडिसम्म काठमाडौंबाट कोलकाता जानु परेमा कि महँगोमा टिकट किन्नुपर्थ्यो, कि सडक मार्ग हुँदै करिब ३ दिनमा कोलकाता पुग्न सकिन्थ्यो । सडक मार्ग हुँदै कोलकाता जान पनि एक जनाको औसतमा ६ हजार रुपैयाँ खर्च हुन्थ्यो । बस र ट्रेनको टिकट भाडा, बाटोको खाना वा नास्ता लगायतका सब खर्च जोड्दा हुने खर्चमा केही रकम थपेपछि अब डेढ घण्टामै कोलाकाता पुग्न सकिने भएको छ ।
बुद्ध एयरले गत अक्टोबर १९ बाट कोलकाताका लागि सिधा उडान सुरु गरेको छ । एकतर्फी भाडा करिब १३ हजार नेपाली रुपैयाँमै सुरु भएको यो उडानले काठमाडौं र कोलकातालाई जोड्न सहजता मात्रै मिलेको छैन, घुमघाम, किनमेल र उपचारका लागि कोलकाता जानेलाई पनि सहजता दिएको छ ।
बुद्ध एयरले साताको तीन दिन अर्थात् आइतबार, मंगलबार र बिहीबारका लागि उडान सुचारु गरेको छ । काठमाडौंबाट बिहान ७ बजे उड्ने र कोलकाताबाट बिहान ९ः३५ बजे काठमाडौं फर्कने गरी तालिका बनाएर नियमित उडान गरिरहेको छ ।
काठमाडौं कोलकाता सिधा उडान सुचारु भएपछि अब केवल डेढ घण्टामै यात्रा गरेर २ दिन बसेर काठमाडौं फर्कन मिल्ने भएको छ । कोलकातामा घुमघाम, खानपान र किनमेल वा तीर्थस्थल र पर्यटकीय केन्द्रहरूको घुमघाम नेपालीहरूका लागि विशेष बन्न सक्नेछ । न्यूनतम २ दिनदेखि अधिकतम ४ रात ५ दिनमा कोलकातामा के के गर्न सकिन्छ र कोलकातामा के कस्ता आकर्षण छन् र कति खर्च लाग्छ भन्ने विषयको विशेष जानकारी यहाँ दिइएको छ ।
योजना एक : २ दिनको कोलकाता यात्रा
दिन १ : कोलकाता प्रस्थान, हावडा ब्रिजदेखि प्रिन्सेप घाटसम्मको घुमघाम
दुई दिनको कोलकाता बसाई व्यस्त यात्रु वा पर्यटक, छोटो छुटी मनाउने आदिका लागि उपर्युक्त हुन्छ ।
पहिलो दिन काठमाडौंबाट बिहान ७ बजेको उडानले बिहान ८ः३० बजे कोलकातामा पुराउनेछ । इमिग्रेसन क्लियरेन्स लगायतका काम गर्दा र कहिलेकाहीँ मौसमका कारण उडानमा ढिलाइ भएमा पनि सामान्यतः ढिलोमा बिहान १० बजे कोलकाता पुग्न सकिने छ ।
एयरपोर्टबाट आफूले बुक गरेको होटेलमा पुग्नका लागि सामान्यतः ३० मिनेटको समय लाग्नेछ । होटेल बुक गर्दा पार्क स्ट्रिट, ब्यालीगंज वा न्यु मार्केट क्षेत्रमा बुक गर्नु उत्तम हुनेछ ।
होटेलमा करिब ११ देखि १२ बजेभित्र चेकइन गर्न सकिन्छ । होटेलमा चेक इन गर्न नभ्याइएमा पनि होटेलमै सामान राखेर कोलकाता बजारको घुमघाममा निस्कन सकिनेछ ।

पहिलो दिन होटेलमा चेक इन गरेर वा सामान राखेर भिक्टोरिया मेमेरियलको भ्रमण गर्न सकिनेछ । भिक्टोरिया मेमोरियलमा म्युजियम र बगैँचाको भ्रमण गर्न सकिनेछ, जसको समय एक देखि डेढ घण्टाको हुनेछ ।

अपराह्न २ बजेदेखि ३ बजेको समय खाना खाने समयका रूपमा छुट्टाउन सकिनेछ । खानाका लागि पार्क स्ट्रिटमा रहेको रेस्टुरेन्ट वा क्याफेहरू उत्तम हुनेछन् । कोलकाता बिरयानीका लागि प्रख्यात भएकाले कोलकाता बिरयानी वा अन्य कन्टिनेन्टल खाना खान सकिनेछ ।

खाना खाइसकेपछि हावडा ब्रिज र हुगली नदीको किनार घुमघामका लागि उत्तम हुनेछ । अपराह्न ३ः३० बजेदेखि ४ः३० अर्थात् एक घण्टाको समय हावडा ब्रिजमा बिताउन सकिनेछ । त्यहाँ फोटो सुट लगायतका काम गर्न सकिनेछ ।
त्यहाँको घुमघाम सकिएपछि साँझ ५ बजेदेखि ६ः३० अर्थात् डेढ घण्टाको समय प्रिन्सेप घाटमा बिताउन सकिनेछ ।

प्रिन्सेप घाट ब्रिटिशकालीन ऐतिहासिक स्मारकका रूपमा विशेष मानिन्छ । यो हुगली नदी किनारमा अवस्थित सुन्दर स्थान, पुलहरूको मनमोहक दृश्य, र उपनिवेशकालीन वास्तुकलाको प्राकृतिक सौन्दर्यसँगको सम्मिश्रणका लागि प्रसिद्ध छ । यहाँको मुख्य आकर्षण भनेको ग्रिक शैलीमा निर्मित स्मारक, नदी किनारको पदयात्रा, डुंगा सयर र स्ट्रिट फुडको स्वाद रहनेछ । विशेष गरी सूर्यास्तका बेला घुमफिर र आरामदायी समय बिताउन प्रिन्सेप घाट लोकप्रिय गन्तव्यका रूपमा रहेको छ ।
साँझ करिब ७ बजेसम्म प्रिन्सेप घाट आसपासमा समय बिताएपछि रातीको खानाका लागि पार्क स्ट्रिट वा भिवेकानन्द पार्कमा स्ट्रिट फुडको मजा लिन सकिनेछ ।
खाना खाएपछि राति होटेलमा गएर आराम गर्न सकिनेछ ।
दिन २ : मन्दिरको भ्रमण, बंगाली खाना, मार्बल प्यालेसको भ्रमण र किनमेल
कोलकाता भ्रमणको दोस्रो दिन बिहान ८ बजेदेखि १० बजेसम्मको समय दक्षिणेश्वर काली मन्दिरमा बिताउन सकिनेछ । कोलकाताको दक्षिणेश्वर काली मन्दिर आफ्नो आकर्षक वास्तुकला र गुम्बजहरूको उत्कृष्ट संरचना, हुगली नदी किनारको रमणीय स्थान, तथा दार्शनिक एवं सन्त रामकृष्ण परमहंसले अनेकौँ आध्यात्मिक अनुभूति प्राप्त गरेको पवित्र स्थलका रूपमा विशेष मानिन्छ । मन्दिरमा प्रत्येक दिन मंगल आरती लगायतका पूजा–विधि, विशेष पूजा र भोग अर्पण गर्न पनि ठूलो भीड लाग्छ । हिन्दुहरूका लागि उक्त मन्दिर बिहानको समयका लागि उत्तम गन्तव्य हुन सक्छ ।

बिहान १० बजेसम्म दक्षिणेश्वर काली मन्दिरमा समय बिताएपछि मध्यान्ह १२ बजेसम्म बेलूर मठमा घुमघाम गर्न सकिनेछ । बेलूर मठ कोलकातानजिकै हावड़ा जिल्लामा हुगली नदीको पश्चिम किनारमा रहेको छ । सन् १८९७ मा स्वामी विवेकानन्दद्वारा स्थापना गरिएको यस मठले एक प्रमुख आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा सेवा गर्दै आएको छ । यसको वास्तुकलामा हिन्दु, ख्रिस्टियन र इस्लामिक शैलीका तत्त्वहरूको सम्मिश्रण पाइन्छ ।

त्यसपछि अपराह्न १ बजेदेखि २ बजेको समयमा स्थानीय थाली वा बंगाली माछा खान खान सकिनेछ । माछा मासु खानेका लागि बंगाली माछा खाना उत्तम हुनेछ भने शाकाहारीका लागि अन्य स्थानीय खानाको स्वाद लिन सकिनेछ ।
दिउँसोको खानापछि अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय इन्डियन म्युजियम वा मार्बल प्यालेसमा समय बिताउन सकिनेछ ।
त्यसपछि साँझ ६ बजेदेखि ८ बजेसम्म न्यु मार्केटमा किनमेल गर्न सकिनेछ ।
किनमेल सकिएपछि राति बंगाली रेस्टुरेन्टमा खाना खाइनेछ ।
दिन ३ : काठमाडौं फिर्ती
तेस्रो दिन बिहान ९ः३५ को उडानको समय तालिका रहेको कारण बिहान कम्तीमा ७ः३० बजे विमानस्थल पुगिसक्नुपर्नेछ । होटेलबाट विमानस्थल पुग्न करिब ३० मिनेटको समय लाग्ने भएकाले समयमै निस्कनु उचित हुनेछ ।
खर्च
२ रातको कोलकाता बसाइँका लागि दुई जनालाई औसतमा ६ हजार देखि १२ हजार भारतीय रुपैयाँ खर्च हुनेछ । यसमा एयरपोर्टबाट ट्याक्सीमा होटेलसम्म जान लाग्ने करिब ३० मिनेटको ट्याक्सी भाडा करिब ५ सय भारतीय रुपैयाँ समेत समावेश गरिएको छ ।, त्यसै गरी खाना खर्च सामान्य प्रवेश शुल्क, स्थानीय ट्याक्सी वा रिक्सा खर्च आदि समावेश भएको छ ।
योजना दुई : ३ दिनको कोलकाता भ्रमण
यदि तपाईँसँग कम्तीमा तीन दिनको समय छ भने दोस्रो योजना तपाईँका लागि ठिक रहनेछ । परिवार, जोडी वा पहिलो पटक कोलकाता जानेका लागि यो तालिका उपर्युक्त हुन सक्नेछ ।
दिन १ : भिक्टोरिया मेमोरियल, सेन्ट पल र प्रिन्सेप घाट
पहिलो दिन काठमाडौंबाट बिहान ७ बजेको उडानले बिहान ८ः३० बजे कोलकातामा पुराउनेछ । इमिग्रेसन क्लियरेन्स लगायतका काम गर्दा करिब १० बज्न सक्नेछ ।
एयरपोर्टबाट आफूले बुक गरेको होटेलमा पुग्नका लागि सामान्यतः ३० मिनेटको समय लाग्नेछ । होटेल बुक गर्दा पार्क स्ट्रिट, ब्यालीगंज वा न्यु मार्केट क्षेत्रमा बुक गर्नु उत्तम हुनेछ ।

होटेलमा करिब १२ बजे चेकइन गर्न सकिनेछ । केही समय आराम गरेर दिनको खानाका लागि निस्कनु उपर्युक्त हुन्छ । पहिलो दिन भोजोहोरी मन्ना नामको बंगाली थाली उपर्युक्त हुन सक्नेछ ।
अपराह्न ४ बजेदेखि ६ बजेको समयमा भिक्टोरिया मेमोरियल, सेन्ट पल र प्रिन्सेप घाट क्षेत्रमा घुमघाम र गंगा नदीमा डुङ्गा सयर उत्तम हुन सक्नेछ ।
साँझ ७ बजेपछि पार्क स्ट्रिटमा डिनर गरेर होटेलमा गई आराम गर्न सकिनेछ ।
दिन २ : मन्दिरको भ्रमण, बंगाली खाना, मार्बल प्यालेसको भ्रमण र किनमेल
कोलकाता भ्रमणको दोस्रो दिन बिहान ८ बजेदेखि १० बजेसम्मको समय दक्षिणेश्वर काली मन्दिरमा बिताउन सकिनेछ । उक्त मन्दिरमा मंगल आरती लगायतका पूजा–विधि, विशेष पूजा र भोग अर्पण गर्न पनि ठूलो भीड हुन्छ । त्यसपछि मध्यान्ह १२ बजेसम्म बेलूर मठमा घुमघाम गर्न सकिनेछ ।

मन्दिरहरूको भ्रमण सकिएपछि खाना खाएर दिउँसो मार्बल प्यालेस, कुमारातुली लगायत स्थानको भ्रमण गर्न सकिन्छ ।
साँझको समयमा न्यु मार्केट वा गरियाहाटमा सारी, कुर्ता, कस्मेटिक लगायतका सामान किन्न सकिन्छ । गरियाहाट उच्च गुणस्तरका कपडाका लागि समेत प्रख्यात स्थान हो ।
किनमेल सकिएपछि साँझ फुच्का, काठी रोल, कोलकाताको चर्चित अर्सलान वा रोयल बिरयानी खान सकिनेछ । कोलकाता मिठाईका लागि समेत चर्चित स्थान भएकाले मिठाई खान वा किन्न सकिनेछ ।
दिन ३ : रोयल बंगाल टाइगर हेर्न सुन्दरवन
कोलकाता भ्रमणको तेस्रो दिन बिहानै हिँडेर ‘सहरका फोक्सो’ मानिने मैदानमा गई खुला स्थानमा ताजगीको अनुभूति गर्न सकिनेछ । त्यसपछि सियालदाहस्थित कोले मार्केटमा बिहानको चहलपहल, भिडभाड र व्यस्तताले भरिएको दैनिक बजार हेर्न सकिनेछ ।
दिउँसोको समयमा कार भाडामा लिएर रोयल बंगाल टाइगरको घर सुन्दरवन जानु उत्तम हुनेछ । सुन्दरवन कोलकाताबाट करिब ८० किलोमिटर टाढा पर्छ र करिब ३ घण्टाको समय लाग्छ । सुन्दरवन जान कार भाडामा लिँदा ३ हजार देखि ५ हजार भारतीय रुपैयाँ खर्च हुन्छ । कहिलेकाहीँ दुर्लभ रोयल बंगाल टाइगर पनि देख्ने अवसर मिल्नेछ ।
सुन्दरवनमा डुंगा भाडामा लिएर सयर गर्न सकिनेछ जसका लागि करिब ३ हजार भारतीय रुपैयाँ लाग्नेछ । साँझ पुनः कोलकाता फर्किएर बाटोमा वा बजारमा डिनर गर्न सकिनेछ ।
खर्च :
३ दिनको कोलकाता भ्रमणका लागि निजी कार भाडामा लिने हो भने दैनिक २ हजार ५ सय देखि ४ हजार भारतीय रुपैयाँ खर्च हुन्छ । अनलाइन ट्याक्सीहरू बुक गर्दा १ सयदेखि ८ सय भारतीय रुपैयाँसम्म पर्न सक्छ ।
कोलकाता सारी र कुर्ताका लागि चर्चित ठाउँ हो । त्यहाँ कटनको सारी किन्न प्रति सारी ६ सयबाट सुरु हुन्छ भने रेसमी सारी गुणस्तर अनुसार २ हजारदेखि २० हजार भारतीय रुपैयाँसम्म पर्छ । कुर्ता भने ३ सय देखि ३ हजार भारतीय रुपैयाँसम्मका पाइन्छन् ।
खाना खर्च : प्रतिव्यक्ति प्रतिदिन ६ सयदेखि १,५०० सम्म ।
अनुमानित कुल खर्च (२ रात, मध्यम स्तरको होटेलमा बस्दा) : प्रति व्यक्ति ९,०००–१८,००० भारतीय रुपैयाँ ।
कोलकाता जाने र फर्किने भाडा : औसतमा १७ हजार भारतीय रुपैयाँ ।
कुल खर्च प्रति व्यक्ति : औसतमा ३० हजार भारतीय रुपैयाँ ।
सुन्दरवन जाँदा अतिरिक्त खर्च : औसतमा ८,००० भारतीय रुपैयाँ ।
योजना तीन : ४ दिनको (विस्तारित कोलकाता र तटवर्ती क्षेत्र)
यो प्याकेज केही लामो छुट्टी मनाउन चाहनेहरू, समुद्र र प्रकृति प्रेमीहरूका लागि उपर्युक्त हुनेछ ।
यसमा ३ दिनसम्म योजना २ अनुसार नै गर्न सकिनेछ ।
चौथो दिन सानो समुद्री बिच बिघामा जान सकिनेछ जुन काेलकाताबाट २ सय किलोमिटर टाढा पर्छ र कार भाडामा लिएर जाँदा ४ देखि ५ घण्टा लाग्छ । कारको भाडा ५ हजारदेखि ८ हजार भारतीय रुपैयाँसम्म पर्छ । त्यहाँको होटेलमा बास बस्नुपर्दा गुणस्तर अनुसार १,२०० देखि ४,५०० सम्म पर्छ । त्यहाँ समुद्री खाना र समुद्री किनारको आनन्द लिन सकिन्छ ।

अर्को विकल्प भनेको पुरी वा कोर्णाक हुन सक्छ जुन मुख्यतः धार्मिक र ऐतिहासिक थलो हो ।
पुरी कोलकाताबाट ५ सय किलोमिटर टाढा छ र ट्रेनमा ६ देखि ८ घण्टा लाग्छ । ट्रेनको भाडा ७ सयदेखि २,२०० सम्म पर्छ । त्यहाँको जगन्नाथ मन्दिर र विश्व सम्पदा सूचीमा परेको कोर्णाक सूर्य मन्दिर पनि जान सकिन्छ ।
त्यस क्षेत्रको होटेल २ हजारदेखि ५ हजार भारतीय रुपैयाँमा प्राप्त गर्न सकिन्छ ।
तेस्रो दिनसम्मको खर्च पहिले अनुसार नै हुँदा चौथो दिनको खर्च दीघामा एक रात बासको खर्च दुई जनाका लागि ८ हजारदेखि १४ हजारसम्म पर्न सक्छ भने पुरीमा ६ हजारदेखि १८ हजारसम्म पर्न सक्छ ।
खर्चको सामान्य जानकारी
यातायात :
विमानस्थलबाट होटेल : ४००–१,०००
दैनिक कार भाडा : २,५००–४,०००
एप क्याब : १००–८०० प्रति यात्रा
खाना :
प्रतिदिन: ४००–१,२०० प्रतिव्यक्ति (कोलकाता बिरयानी, कठी रोल, फुच्का, रसगुल्ला)
किनमेल
साडी: ६००–२०,०००
कुर्तीः ३००–३,०००
सुझाव :
होटेल पहिले बुक गर्नुहोस् ।
भारतीय रुपैयाँ लैजानुहोस् ।
वैध कागजातहरू (अङ्ग्रेजीसमेत भएको नागरिकता, पासपोर्ट, मतदाता परिचय पत्र) आदि लैजानुहोस् ।
बुद्ध एयरको यो नयाँ सेवाले नेपालीहरूको लागि कोलकाता भ्रमणलाई अझ सहज बनाएको छ । आफ्नो अनुकूल समय अनुसार यी योजनाहरू मध्ये छनौट गर्न सकिनेछ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया