काठमाडौं । बुद्ध एयरले आगामी कात्तिक २ गतेबाट कोलकातामा उडान भर्ने भएको छ । बुद्ध एयरले आफ्नो पहिलो उडान कात्तिक २ गते बिहान ७ बजे उडान गर्न लागेको हो ।
बुद्ध एयरले आगामी कात्तिक २ अर्थात् अक्टोबर १९ तारिखबाट काठमाडौं–कोलकाता–काठमाडौं उडान पुनः सुचारु गर्न लागेको हो । यसअघि पनि बुद्ध एयरले कोलकातामा उडान गरेकामा कोभिड १९ को संक्रमणपछि उक्त उडान रद्द गरिएको थियो ।
बुद्ध एयरले एकतर्फी भाडा न्यूनतम १२ हजार ५४० रुपैयाँबाट सुरु हुने जनाएको छ । एयरलाइन्सको टिकटको उपलब्धता, क्याटेगोरी आदिका आधारमा न्यूनतम एकतर्फी भाडा १२ हजार ५४० रुपैयाँ रहने जनाएको हो । एयरलाइन्सले यसअघि एकतर्फी भाडा १३ हजार ३५३ रुपैयाँ रहने जनाएको थियो ।

बुद्ध एयरले तत्कालका लागि सातामा तीन दिन उडान गर्ने जनाएको छ । अहिलेका लागि आइतबार, मंगलबार र बिहीबार उडान गर्ने गरी तालिका तयार भएको छ । काठमाडौंबाट बिहान ७ बजे उडान भर्ने र कोलकाताबाट बिहान ९:३५ मा काठमाडौं फर्कने गरी तालिका बनेको छ ।
एक घण्टा ३५ मिनेटको हुने काठमाडौं-कोलकाता-काठमाडौं उडानमा बुद्ध एयरले आफ्नो एटीआर–७२ जहाजबाट गर्नेछ ।
हाल नेपालीहरू काठमाडौंबाट कोलकाता जानु परेमा दिल्ली हुँदै जानुपर्ने हुन्छ । जहाजमै दिल्ली र त्यहाँबाट कोलकाता जाँदा औसतमा एकतर्फी भाडा मात्रै करिब ३० हजार रुपैयाँ पर्छ । तर बुद्ध एयरले सस्तोमै उडान गर्ने भएपछि भाडा मात्रै सस्तिएको छैन, समय र पैसाको समेत बचत भएको छ ।

नेपालीहरू औषधी उपचार, व्यापारिक प्रयोजन, धार्मिक पर्यटन र घुमघामका लागि कोलकाता जाने गर्दछन् भने कोलकाताबाट अधिकांश व्यक्तिहरू नेपाल फर्कने वा धार्मिक पर्यटनका लागि आउने गर्दछन् ।
बुद्ध एयरले नेपाली यात्रुहरूलाई कोलकाताको उडान सुरु भएसँगै जगन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा ल्याउने तयारी गरेको छ । यी प्याकेजहरू भने बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ ।
बुद्ध एयरले दुई मुलुकलाई जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनमा टेवा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ गतेबाट कोलकाता उडान भरेको थियो । तर पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया