काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ ।
नर्वेली पुरस्कार समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन् ।
नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन् । सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ । अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन् ।
यो विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिन्छ ।
विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ ।
यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी तीव्र बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार मिल्ने सम्भावना केहीले औँल्याए पनि लामो समयदेखि नोबेल अवार्डका पर्यवेक्षकहरूले उनको सम्भावना न्यून रहेको टिप्पणी गर्दै आएका थिए । ट्रम्प आफैले पनि आफू यो पुरस्कारका लागि योग्य भएको बताएका थिए ।
यस्तै, शान्ति अनुसन्धान संस्थान ओस्लोद्वारा सम्भावित विजेताको रूपमा उद्धृत नामहरूमा सुडानको इमर्जेन्सी रेसपोन्स रुम (देशको गृहयुद्धमा मानवतावादी सहयोगको मेरुदण्ड बनेको समुदाय) आधारित नेटवर्क, अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का साथै कमिटी टु प्रोटेक्ट जर्नालिस्ट रहेका थिए ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट अमेरिकास्थित गैर–नाफामुखी सङ्गठन हो, जसले प्रेस स्वतन्त्रताको संरक्षण र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारहरूको अभिलेख तयार गर्ने कार्य गर्दै आएको छ ।
गत वर्षको नोबेल शान्ति पुरस्कार जापानको ‘निहोन हिडान्क्यो’ संस्थालाई प्रदान गरिएको थियो । यो संस्था हिरोसिमा र नागासाकीमा भएको आणविक विस्फोटबाट बचेका व्यक्तिहरूद्वारा स्थापन गरिएको आन्दोलन हो, जसले दशकौँदेखि आणविक हतियारको प्रयोगविरुद्ध अन्तर्राष्ट्रिय निषेध कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
नोबेल पुरस्कारहरू मध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार— चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य— यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् ।
सोमबार चिकित्सा, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेताहरू घोषणा गरिएका हुन् । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने अपेक्षा गरिएको छ ।
आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया