संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न राष्ट्रपतिको अपिल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् । 

हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ, २०८२ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो अपिल गरेका हुन् । 

उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न भएको विषम तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्नुपर्छ ।’

शक्ति, भक्ति भाव र श्रद्धाको पर्वको रूपमा हिन्दुहरूले मनाउने बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि नवमीसम्म नवदुर्गा भवानीको पूजाअर्चना गर्ने गरिन्छ । विजया दशमीका दिन दुर्गा भवानीको प्रसादको स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा बडादसैँ मनाउने गरिन्छ ।

विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन छन् । 

राष्ट्रपति पौडेलले सन्देशमा  भनेका छन्, ‘दसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवं पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ । दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइन्छ । यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास मैले लिएको छु ।’

सन्देशमा उनले बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व बढाएको छ । यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्‍याइ रहेको देखिन्छ भनिएको छ । 

‘मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्याहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइने भन्दै यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुराउने विश्वास पनि आफूले लिएको पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?